गण्डकी । सहरीकरणको विस्तारसँगै मुलुकका अधिकांश स्थानमा कृषिप्रति आकर्षण घटिरहेको बेला गण्डकी प्रदेश भने दूधमा आत्मनिर्भर बन्ने अवस्थामा पुगेको छ । पछिल्ला वर्षमा व्यावसायिक गाई तथा भैँसीपालन क्रमशः बढ्दै गएसँगै प्रदेशमा प्रतिदिन ६५ हजार लिटर दूध उत्पादन हुने गरेको छ ।
मागअनुसार दूध आत्मनिर्भरताको अवस्थामा पुगेको नेपाल डेरी एशोसिएशन गण्डकी प्रदेशका अध्यक्ष शिवहरि आचार्यले जानकारी दिए । उनले मागको ९० प्रतिशत दूध गण्डकीमा उत्पादन हुने पछिल्लो वर्षमा गाईपालनतर्फ सर्वसाधारण आकर्षित बन्दै गएका कारण आत्मनिर्भर बन्दै गएको बताए ।
आचार्यकाअनुसार गण्डकी प्रदेशमा स्थानीय उत्पादनका अतिरिक्त चितवन, नवलपरासी, कपिलवस्तु र रुपन्देहीबाट दूध आउने गरेको छ । गण्डकीको नवलपुरबाट अन्य प्रदेशमा दूध निर्यात हुने गरेको छ । प्रदेशको राजधानी पोखरासहित विभिन्न जिल्ला सदरमुकाममा दूधको खपत बढी हुन्छ । आचार्यले गण्डकीभित्र ठूला चार, मझौला आठ, साना २० र घरेलु १०० डेरी रहेको जानकारी दिए ।
दूधको सेवन गर्ने क्रम पछिल्ला वर्षमा बढ्दै गएकाले दिनानुदिन माग बढ्दो क्रममा रहेको व्यवसायी बताउँछन् । कोरोना कहरयता बढ्दो महँगी भने गम्भीर समस्याका रुपमा देखापरेको पोखरा महानगरपालिका–३३ भरतपोखरी बाघमाराका अगुवा किसान ठाकुर आचार्य बताउँछन् ।
विसं २०६६ पछि व्यावसायिक गाईपालनमा लागेका आचार्यले अहिले दैनिक ५० लिटर दूध उत्पादन गर्दै आएका छन् । उत्पादित दूधको बजारमा समस्या नभए पनि बढ्दो महँगीका कारण उत्पादनको लागत बढ्न गएको उनको भनाइ छ । आचार्यकाअनुसार कोरोना कहर अघिसम्म ८/९ सय रूपैयाँमा पाइने चोक्कर अहिले २ हजार २ सय रुपैयाँ पर्ने गरेको छ ।
त्यस्तै ४० हजारमा एक ट्रिप पराल आउने गरेकामा अहिले भने ९० हजारदेखि ९५ हजार रुपैयाँसम्म पर्ने गरेको उनले दुखेसो सुनाए । बढ्दो महँगीसँगै गाईको दूधको लागत प्रतिलिटर १ सय १० रुपैयाँसम्म पर्ने गर्छ तर सरकारी निर्धारित मूल्यअनुसार किसानले ५७/५८ रुपैयाँ मात्रै पाउने गरेको उनको भनाइ छ । किसानका यी समस्यामा सरकारको ध्यान नपुगेको उनले बताए ।
व्यावसायिकताको विकाससँगै कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको बाघमारालगायतका स्थानले पछिल्ला समयमा राम्रो पहिचान बनाएका छन् ।
पछिल्ला वर्षमा व्यावसायिक रुपमा फस्टाउँदै गएको दुग्ध उत्पादनका साथै तरकारी खेतीसँगै बाघमारा दूधको सहरका रुपमा घोषित बनेको छ । दुई दशकअघि २०५० सालमा बाघमाराबाट दुग्ध विकास संस्थानलाई दूध संकलन गरी बिक्री गर्न थालेसँगै यस क्षेत्रमा कृषिको व्यावसायिकतामा विकास भएको हो ।
विसं २०५७ पछि यस क्षेत्रमा गाईपालनप्रति आकर्षण बढ्दै गएको चिरगादी दुग्ध उत्पादक सहकारी संस्थाका पूर्व अध्यक्ष विश्वेश्वर हरामी बताउँछन् । सुरुमा दुग्ध विकास संस्थानले दूध लैजाने गरेको यस ठाउँमा २०६१ साल भदौदेखि नीजिस्तरबाट सञ्चालित पन्थी डेरीले बाघमारामा दूध सङ्कलन गर्न थालेको थियो । अन्य निजी डेरी पनि बाघमारामा सम्पर्कमा आउन थालेसँगै गाईपालनको वातावरण थप बढेको उनले बताए ।
सुरुमा २०५०/५१ सालतिर तालचोकसम्म दूध पुर्याउनुपर्नेमा यातायातको सुविधासँगै २०६१ सालपछि पुलचोक दूध सङ्कलन केन्द्रका रुपमा विकास भएको थियो । पछिल्ला वर्षमा चिरगादीमा पक्की पुल बन्नुका साथै पोखराको दोभिल्ला हुँदै सवारीसाधन आवतजावत गर्न थालेका कारण उत्पादित दूध बजारमा पुर्याउन सहज भएको छ । बाघमाराबाट बजारमा दूधको बढ्दो मागका साथै पछिल्लो समयमा स्थानीय युवा पनि यसतर्फ आकर्षित बन्न थालेको उनले जानकारी दिए ।