काठमाडौं । खीर दिवस अर्थात् यो वर्षको साउन १५ मा करिब ५० लाख लिटर दूध बजारमा बिक्री हुने अनुमान नेपाल डेरी एसोसिएसनले जनाएको छ । अन्य दिनभन्दा ५ गुण बढी दूधको माग साउन १५ मा हुने भएकाले कारोबार पनि बढ्ने एसोसिएसनको भनाइ छ ।
एसोसिएसनका अनुसार ५० लाख लिटर दूध खपत हुँदा ५० करोड रुपैयाँ कारोबार हुन्छ । आज देशभरि घर, अफिस, विद्यालयलगायत ठाउँहरूमा खीर खाएर साथीभाइ तथा आफ्ना आफन्तबीच रमाइलो गरेर खीर दिवस बनाइन्छ ।
असारमा हिलोमा काम गर्दा सर्दी लाग्न सक्ने र त्यसबाट बच्न तथा पौष्टिक आहारको रुपमा आज खLर खाएर यो दिवस बनाइँदै छ । सरकारले पनि प्रत्येक वर्ष साउन १५ गतेलाई खीर दिवस घोषणा गरेको छ ।
यो वर्ष कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले ‘पोसिलो खीर, स्वस्थ शरीर’ मूल नाराका साथ बनाउने जनाएको छ । साथै पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ लि, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपन्छी तथा मत्स्य पालन सहकारी संघ लि., नेपाल डेरी साइन्स एसोसिएसनले पनि खीर दिवस मनाइरहेका छन् ।
नेपालमा मात्रै नभई अन्य देशहरूमा पनि खिर खाने प्रचलन रहेको छ । खीर खाने प्रचलन १४ औं शताब्दीमा चीनबाट सुरु भएको विश्वास गरिन्छ । दूधमा चिल्लो पदार्थ, प्रोटिन, कार्बोहाइड्रेड, खनिज पदार्थ, भिटामिन जस्ता शरीरलाई चाहिने अति आवश्यक तत्वहरू पाइन्छ ।
दूधमा ३.० प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याकटोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट करिब ६० क्यालोरी शक्ति प्राप्त हुन्छ । एक स्वस्थ व्यक्तिलाई प्रतिदिन २ हजार १ सय ८ क्यालोरी शक्तिको आवश्यक पर्छ । साधारणतया १०० ग्राम खीरबाट ९२ क्यालोरी शक्ति पाइन्छ ।