काठमाडौं । नेपालका ग्रामीण क्षेत्रको अर्थतन्त्रलाई ठूलो योगदान पुर्याएको बाख्रापालक व्यवसायी र वैज्ञानिकको सहभागितामा चितवनमा एसियाली क्षेत्रीय बाख्राविज्ञहरुको सम्मेलन–२०७६ हुने भएको छ ।
चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयले आगामी कार्तिक ३ देखि ६ गतेसम्म ‘विकासशील विश्वमा खाध्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन’ भन्ने मूल नाराका साथ सो सम्मेलन हुने भएको हो ।
आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विश्वविद्यालयकी उपकुलपति प्रा.डा. शारदा थपलियाले सम्मेलनमा भारत, पाकिस्तान, क्युबा, संयुक्त राज्य अमेरिका, क्यानाडा, इटाली, जापान, हंगेरी, चीन, इन्डोनेसिया, बङ्गलादेश, फ्रान्स, केन्या र नेपाल गरी १४ देशका बाख्रा अनुसन्धान र बिकासमा योगदान पु¥याउने सफल वैज्ञानिक, उद्यमी र विद्यार्थीहरु सहभागी हुने जानकारी दिइन् ।
उनका अनुसार सम्मेलनमा अन्तर्राष्ट्रिय बाख्रा एसोसियसनका अध्यक्ष डा.बेथ मिलर तथा उपाध्यक्ष लुुुुसिया सेपे सन् २०२० मा हंगेरीमा हुने अन्तर्राष्ट्रिय बाख्राविज्ञहरुको सम्मेलनमा सहभागी हुने छन् । यस्तै आयोजक समितिका अध्यक्ष डा.सान्डोर कुकोभिक्स, चीनको हेबेई कृषि विश्वविद्यालयका डीन डा.यिङ्गजी झाङ, जापानस्थित मिजो विश्वविद्यालयका प्रा.डा. योशिहाकी हायासीलगायत १५ देशका करिब ३०० जना सहभागी हुने थपलियाले बताइन् ।
सम्मेलनमा खाद्य तथा पोषणको स्रोत, बाख्रा उत्पादनका नीति, सामाजिक आर्थिक विकास, बाख्राको आहारा, पोषण तथा व्यवस्थापन, प्रजनन तथा जैविक प्रविधि, स्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण र उत्पादनको प्रशोधन प्रविधि बिकासलाई समेटेर ३ ओटा विशेषज्ञ कार्यपत्र, १४ आमन्त्रित, ३८ भन्दा बढी मौखिक र ४२ भन्दा बढी पोस्टर गरी १०७ भन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिने प्राडा निराजन भट्टराईले बताए ।
नेपालमा व्यवसायिकरुपमा बाख्रापालनको प्रचुर सम्भावना रहेको भएता पनि अझै परम्परागत पालन पोषण प्रणाली हुनु, घाँसका लागि उन्नत खेतीको उपयुक्त बीउबिजनको सहज उपलब्धता नहुनु, साना र कम उत्पादनशील जात मात्रै हुनु, आधुनिक प्रजनन प्रणालीको स्रोत र प्राविधिक स्रोतमा कृषकहरुको कमजोर पहुँच हुँदा नेपाली बाख्रापालनमा समस्या भएको बताइएको छ ।