काठमाडौं । चालू आर्थिक वर्ष ०७९/०८० को बजेटमा काठमाडौं उपत्यकाको चारभन्ज्याङमा ४ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन थाल्ने घोषणा गरिएको थियो । तर, अर्थ मन्त्रालयले नै प्रकाशन गर्ने रातो किताबमा भने उक्त आयोजना समावेश गरिएको छैन ।
सुरुङ निर्माण तथा अध्ययनको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागको हो । तर, विभागले रातो किताबमा समावेश भएका योजनालाई मात्रै कार्यान्वयन गर्ने गर्दछ ।
अर्थ मन्त्रालयले बजेट भाषणअनुसार उपत्यकाको चारभन्ज्याङमा निर्माण गर्ने भनिएका ४ सुरुङमार्गको योजना रातो किताबमा समावेश नगरेपछि विभागले संभाव्यता अध्ययनको काम सुरु नगर्ने भएको हो ।
निर्माणाधीन नागढुंगाबाहेक अन्य तीन ठाउँमा पनि सम्भाव्यता अध्ययन आर्थिक वर्ष ०७९/०८० मा सुरु गर्ने बजेट भाषणमा बताइएको थियो । सो योजना बजेट वक्तव्यको २३० नम्बर बुँदामा समेटिएको छ ।
उपत्यकामा निर्माण हुने भनिएकामध्ये हाल निर्माणाधीन अवस्थामा नागढुंगा सुरुङमार्ग रहेको छ । जसको निर्माणकार्यले निरन्तरता पाउने सडक विभागमा उपमहानिर्देशक एवं प्रवक्ता भीमार्जुन अधिकारी बताउँछन् । त्यस्तै गोदावरी–पनौती सुरुङमार्गको फिजिबिलिटी अध्ययन गर्ने उपमहानिर्देशक अधिकारीको भनाइ छ ।
सडक विभागअन्तर्गतकै क्युओआर डीसीले गोदावरी–मानेभन्ज्याङ सुरुङमार्गको फिजिबिलिटी अध्ययन गर्ने बताइएको छ । त्यसबाहेक अन्य कुनै पनि कार्यक्रम आर्थिक वर्ष ०७९/०८० मा नरहेको विभागले जनाएको छ ।
काठमाडौं उपत्यकाको चारभन्ज्याङ भन्नाले नागढुंगा, टोखा–छहरे, साँगा–बनेपा र गोदावरी–पनौतीलाई चिनिन्छ । त्यसमध्ये केही वर्ष पहिले नै टोखा–छहरे–गुर्जुभन्ज्याङ सुरुङर्माग चीनले अध्ययन गर्ने जनाएको थियो । तर, कोभिड संक्रमण सुरु भएदेखि सडक विभागको सम्पर्कमा चिनियाँ पक्ष नआउँदा विगत लामो समयदेखि टोखा–छहरे–गुर्जुभन्ज्याङ सुरुङर्माग अन्योलमा छ ।
किन समेटिएन रातो किताबमा सुरुङको योजना ?
अर्थ मन्त्रालयमा सूचना अधिकारी कमलकुमार भट्टराई भने बजेट भाषणमा आएको कुरा रातो किताबमा समावेश हुने वा नहुने भन्ने विषय सम्बन्धित मन्त्रालयमै भर पर्ने बताउँछन् ।
क्यापिटल नेपालसँग कुरा गर्दै भट्टराईले भने, ‘आयोजना प्रस्ताव गर्ने र बजेटमा समावेश गर्न लगाउने सबै काम अन्य मन्त्रालयबाटै आउँछ । बजेट नपुगेर वा अन्य केही कारणले भौतिक मन्त्रालयले रातो किताबमा समावेश नगर्नु भनेको हुन सक्छ, त्यसमा अर्थ मन्त्रालयको भूमिका छैन ।’
हाल नेपालमा अध्ययन र निर्माणको चरणमा २ दर्जन बढी सुरुङमार्ग रहेका छन् । भौतिक मन्त्रालय तथा सडक विभागका इन्जिनियरहरु भने सरकारले घोषणा गरेका सबै स्थानमा सुरुङमार्गको आवश्यकता नरहेको बताउँछन् ।
सवारीसाधनको चाप बढी भएको तथा लगानीको प्रतिफल लिन सकिने ठाउँमा मात्रै सुरुङ निर्माण गर्नुपर्ने बताउँछन् । नेपाली इन्जिनियर तथा प्राविधिकहरुमा सुरुङ बनाउने क्षमता बढे पनि देशको आर्थिक अवस्थालाई ख्याल गरेर सुरुङमा लगानी गर्नुपर्ने उनीहरुको भनाइ छ ।
हाल निर्माणाधीन नागढुंगा सुरुङमार्ग र ठेक्का सम्झौता भएको सिद्धार्थ राजमार्गको सिद्धबाबा सुरुङमार्ग निर्माण हुने निश्चित भएको छ । त्यसबाहेक बीपी राजमार्गको खुर्कोट–चियाबारी सुरुङमार्ग पनि बनाउनुपर्ने आश्यकता बढेको भौतिक मन्त्रालयमा एक कर्मचारी बताउँछन् । सो राजमार्गमा सवारी चाप बढ्न थालेकाले सुरुङको आवश्यकता पनि बढेको उनको भनाइ छ ।
सो सुरुङमार्गको अध्ययन जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले गरिरहेको छ । देशभर अध्ययन गर्ने भनिएका अन्य सुरुङ भने राजनीतिक स्वार्थ र प्रतिस्पर्धाले घोषणा भएकाले निर्माण गर्नु उपयुक्त नभएको ती कर्मचारी बताउँछन् ।