एजेन्सी । नेपालीमा एउटा भनाइ छ, विष्ठा पुछेर फालेको काठ पनि काम लाग्छ । अर्थात् कसैले कसैलाई कम सोच्नुहुन्न । एक दिन घुमीफिरी सबैको दिन आउँछ ।
विद्युतीय गाडी उद्योग (इलेक्ट्रिक भेहिकल इन्डस्ट्रिज) मा यस्तै एउटा घटना घटेको छ । कुनै बेला चीनको एउटा उत्पादनलाई टेस्ला मोटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले खराब बताएका थिए । आज त्यही कम्पनीले कारोबारमा टेस्लालाई पछारेको छ ।
त्यो उत्पादन हो, बिल्ड योर ड्रिम्स (बीवाईडी) । चीनको कम्पनी बीवाईडीले चालू महिनामा इलेक्ट्रिक कार बिक्रेता कम्पनी टेस्लालाई उछिनेको छ ।
सन् १९९५ मा वाङ चुआन्फुले बीवाईडी गाडी कम्पनीको स्थापना गरेका थिए । कम्पनीको चीनबाहिर खासै चर्चा छैन । यति हुँदाहुँदै पनि कम्पनीले सन् २०२२ को ६ महिनामा ६ लाख ४१ हजार इलेक्ट्रिक एवं हाइब्रिड कार बेचेको छ । जबकि टेस्लाले सोही अवधिमा ५ लाख ६१ हजार मात्र ईभी बेचेको छ ।
यस्तै बीवाईडी कारको मूल्य पनि टेस्लाभन्दा निकै सस्तो छ । बीवाईडीको हान सेडनको मूल्य चीनमा ३२ हजार डलर पर्छ । जुन टेस्लाको सुरुवाती मोडल वाईभन्दा १८ हजार डलर सस्तो हो ।
मोडल ल्याउँदै बीवाईडी
सन् २०१५ देखि बीवाईडी ट्याङ हाइब्रिडका मालिक टोनी फूले अलजजिरासँग कुरा गर्दै भनेका छन्, ‘यो सफलता कुनै आश्चर्यजनक होइन । यसको मूल्य पनि टेस्लाभन्दा सस्तो छ । साथै हामीसँग मोडेल पनि धेरै छन् ।’
सुरुमा चिनियाँ इलेक्ट्रिक कारको ठूलो आलोचक एलन मस्क नै थिए । उनले ब्लुमबर्गलाई दिएको एउटा अन्तर्वार्तामा बीवाईडीले राम्रो उत्पाद नगर्ने बताएका थिए ।
बिक्रीमा ३१५ प्रतिशतको उछाल
बीवाईडीले यो वर्षको छ महिनाभित्र बिक्रीमा ३१५ वृद्धि भएको छ । कम्पनीले ९० प्रतिशतभन्दा बढी वाहन चीनमै बिक्री गरेको छ ।
कम्पनीले चीनका ४८ करोड लाइसेन्सधारीलाई टार्गेट गर्दै योजना बनाएको छ । सोहीअनुसार उत्पादनमा पनि जोड दिइरहेको छ ।