काठमाडौं । एनआईसी एसिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवाको शुभारम्भ गरेको छ ।
यस सेवामार्फत ग्राहकले सहज रुपमा खातामा नगद रकम जम्मा गर्न सक्नेछन् । यस सेवाअन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहकले केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।
मेसिनबाट १ हजार र ५ सय रूपैयाँ दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एक जना ग्राहकको खातामा एक पटकमा अधिकतम रू।९९ हजार ५ सय रूपैयाँ गरी दैनिक अधिकतम ९ लाख ९९ हजार ५ सय रूपैयाँसम्म नगद जम्मा गर्न सकिनेछ ।
यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि सेवाग्राहीले रकम जम्मा गर्न इच्छाएको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा ओपीटी प्राप्त गर्छन् ।
साे ओपीटी मेसिनमा उल्लेख गरेर भेरिफाइ भएपछि रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुनेछ । मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा जम्मा गरिदिने र त्यसको जानकारी समेत एसएमएस तथा रिसिप्ट मार्फत उपलब्ध हुने व्यवस्था बैंकले गरेको छ ।
बैंकले यो सेवा हालका लागि आफ्नो न्युरोडको बिशालबजार शाखामा सञ्चालन गरेको छ भने यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योेजना बनाएको छ ।
अब फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकहरूलाई सजिलाे हुने बैंकले जनाएको छ । साथै, यस बैंकले दैनिक रूपमा रकम झिक्न र बचत गर्न सकिने मेसिनबाट समेत सेवा सुचारु गरिसकेको छ ।
बैंककाे हाल देशभर ३ सय ५९ शाखा कार्यालय, ४ सय ७३ एटीएम, १ सय २ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत सेवा दिँदै आएकाे छ ।