काठमाडौं । बैंक तथा वित्तीय संस्थाले साना प्रकृत्तिका सेयर ऋणलाई प्राथमिकतामा राखेर व्यवहार गर्न थालेका छन् । वित्तीय संस्थाहरुले विगतको भन्दा सरल तथा सहज स्थिति सिर्जना गर्दै २५ लाखभन्दा तलका ऋणीलाई प्रमोसन गर्न थालेका हुन् ।
विगतमा ठूला ऋणीलाई प्रोत्साहन गर्दै आएका बैंकहरु चालू मौद्रिक नीतिपछि साना ऋणीतर्फ आकर्षित भएका हुन् । बैंकमा सेयर धितो राखेर ऋण खोज्न जाने ऋणीहरुलाई २५ भन्दा कमका भए प्रक्रिया अघि बढाउने र ठूला भए स्थिति कठिन रहेको भनेर फर्काउने गरेको पाइएको छ ।
गत आर्थिक वर्षदेखि नै लगानीयोग्य रकम अभावले छटपटिएका बैंकहरु चालू वर्ष लागेपछि पनि उत्तिकै पीडामा छन् । तर, २५ लाख रुपैयाँसम्मको सेयर धितोमा ऋण दिन बैंकरहरु सकारात्मक देखिएका छन् ।
गत वर्ष सेयर कर्जालाई कडाइ गर्दै राष्ट्र बैंकले एउटा वित्तीय संस्थाबाट ४ करोड र समग्र प्रणालीबाट १२ करोड रुपैयाँसम्म ऋण लिन पाउने व्यवस्था गरेको थियो । तर, चालू वर्ष ४ करोडको सीमा हटाएर १२ करोडको सीमा मात्रै कायम राखेन्, साना ऋणीहरुलाई प्रोत्साहनको नीति अघि सारेको छ ।
२५ लाखसम्मको सेयर धितो ऋण दिँदा जोखिमभार १५० प्रतिशतबाट १०० प्रतिशतमा झारेको छ । यसले केन्द्रीय बैंक पनि साना लगानीकर्तासमक्ष ऋण पहुँच पुर्याउन अग्रसर भएपछि बैंक तथा वित्तीय संस्थाहरुले त्यसलाई कार्यान्वयनमा लगेका हुन् ।
मौद्रिक नीति आए पनि त्यससँगका सम्बन्धित निर्देशनहरु आइसकेका छैनन् । यद्यपि बैंकहरु केन्द्रीय बैंकको आशय बुझेर साना ऋण लगानीमा सकारात्मक हुँदै अघि बढेका छन् ।
तरलताका हिसाबले कठिन अवस्थामा भए पनि बैंकहरुले २५ लाखसम्मको ऋण प्रक्रिया अघि बढाएर कर्जा स्वीकृत गराइहेका छन् । यसले आगामी दिनमा साना ऋणीहरुको पहुँच विस्तार हुने र त्यसले समग्र सेयर बजारलाई नै तत्लो तहसम्म फैलाउन सहयोग गर्ने बुझाइ आमलगानीकर्ताको छ ।
केन्द्रीय बैंकले आर्थिकस्थिति संकटतर्फ गएको भन्दै मौद्रिक नीतिमार्फत ब्याजदर बढाउने नीति अख्तियार गरेको छ । बैंकरहरुले पनि त्यसलाई आत्मसात् गरेर उच्च ब्याजदरमा सानो ऋण प्रवाहको बाटो रोजेका हुन् ।
तिनै बैंकहरुले विगतमा साना ऋण खोज्दै जाने लगानीकर्तालाई बेवास्ता गर्थे । साना ऋणको प्रक्रियामा बढी भार थपिने भन्दै बैंकरहरु ऋणीको खोजमा हुन्थे । तर, राष्ट्र बैंकले जोखिमभार घटाएपछि साना लगानीकर्तालाई आफ्नो पहुँचमा पार्न बैंकहरु लालायित देखिएका छन् ।
सेयर औसत मूल्यको ७० प्रतिशतसम्म वा न्यूनतम मूल्य जुन कम हुन्छ, त्यसलाई आधार मानेर कर्जा दिने व्यवस्था छ । तर, कतिपय बैंकहरुले माथिको निर्देशन भन्दै नयाँ ऋण दिँदा औसत मूल्यको ५० प्रतिशत मात्रै धितो मूल्यांकन गर्न थालेका छन् । बैंकरहरुले यसो गर्नाको पछाडि कारण रहेको बताउँदै ऋण जोखिममुक्त हुने र आगामी दिनमा मार्जिन कलको झन्झट व्यहोर्न नपर्ने उपायको खोजी गरिएको बताउँछन् ।
गत आर्थिक वर्ष पनि ठूला ऋणमा कडाइ गरेपछि साना ऋणको भोल्युम बढ्दै गएको थियो । गत आर्थिक वर्षको ११ महिनामा २५ लाखमुनिका कर्जा १६ प्रतिशतले बढेको छ । २५ लाखभन्दा बढी कर्जा दिँदा जोखिमभार बढी राख्दा बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमै असर पर्ने देखिएपछि ठूलालाई निरुत्साहितको नीति अवलम्बन गरिएको बैंकरहरु बताउँछन् ।