काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीईआईबी) ले ग्रान्ड डिजाइन गरी सर्जन बिकको हत्या प्रकरणमा संग्लनलाई पक्राउ गरेको छ ।
सीआईबीले शुक्रबार पत्रकार सम्मेलन गरी हत्याको रहस्य खुलाएको हो । प्रहरीले बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात बिमामा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरी संगठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।
पक्राउ पर्नेमा बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटा छन् । सीआईबीले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।
गिरोहले गरिब परिवारका एक युवकलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराई २ करोड ५० लाख रुपैयाँको बिमासमेत गराएको पाइएको छ । नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखी बैंक खाता खोलिएको र बिमा गराइएको पाइएको छ ।
युवकको २ करोड ५० लाख रुपैयाँ बराबरको बिमा गराइएको र ती युवकलाई योजनामै हत्या गरिएको पाइएको छ । हत्यापछि इन्सुरेन्सबाट आएको पैसा गिरोहका सदस्यहरूले बाँडेर लिएको पाइएको छ ।
२ करोड ५० लाख रुपैयाँ बराबरको इन्स्योरेन्स गराइएका सर्जन बिकको २०७८ वैशाख २ गते बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा मृत्यु भयो । मोटरसाइकल चलाउने लाइसेन्ससमेत नभएका बिकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनिबसले ठक्कर दिएपछि बिकको मृत्यु भएको थियो ।
सवारी दुर्घटनामा युवकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सवारी ज्यान मुद्दा चलाइएकामा २०७८ माघ २५ मा फैसला हुँदा रानालाई एक महिना कैद र २ हजार रुपैयाँ जरिवाना गरी छाडिएको थियो । मुद्दा सकिए लगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेस गरी गिरोहले रिलायन्स इन्सुरेन्सबाट २ करोड ५० लाख रुपैयाँ भुक्तानी लिएका थिए।
मृतकको नजिकको हकवालाका रूपमा श्रीमती बनाइएकी सपना मल्लको बैंक खातामा इन्सुरेन्स कम्पनीले २ करोड ५० लाख रुपैयाँ भुक्तानी दिएको थियो । उक्त रकम हत्यामा संग्लनहरुले बाँडफाँड गरी लगेको प्रहरीले जनाएको छ ।
गिरोहका सदस्यले ठूलो रकम हात पार्नको लागि विवाह गराई हत्या गरी मृत्युपश्चात बिमा कम्पनीबाट आउने ठूलो रकम बाँडफाँड गर्न नक्कली विवाह गरेको पाइएको छ । सीआईबीका अनुसार मृतक २१ वर्षीय सर्जन बिक र सपनाबीच विवाहको दिन मात्रै भेट भएको थियो ।
विवाह दर्ता र बैंकमा खाता खोल्ने समयमा मात्रै उनीहरूबीच भेट भएको प्रहरीले जनाएको छ । गरिब परिवारका सर्जनलाई विवाह गरी अस्ट्रेलिया लैजाने भन्दै सपना मल्लसँग नक्कली विवाह गरिएको थियो ।
त्यसपछि विवाह गरेको समयपछि उनीहरूबिच भेटघाट नै नभएको प्रहरीले जनाएको छ । २ करोड ५० लाख रुपैयाँको बिमा गरेको ३७ दिनमा सर्जनको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।
त्यसपछि भएको अनुसन्धानमा सर्जनको सवारी दुर्घटनामा मृत्यु भएको नभई हत्या भएको पाइएको हो। आरोपितहरूले कसुर स्वीकार गरेको सीआईबीले जनाएको छ। सीईआईबिले मृतको श्रीमती सपना मल्ल अध्यनको लागि जापान जादै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ। अन्य पाँच जनालाई भने कोहलपुरबाट प्रक्राउ गरेको थियो ।