काठमाडौं । निजी लगानीमा स्थापना भएको लिवर्टी इनर्जी कम्पनी लिमिटेडले २४.६ मेगावाटको बडीगाड खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।
कम्पनीले आयोजना निर्माण तथा विद्युत उत्पादनको अनुमतिपत्र (लाइसेन्स) का लागि विद्युत विकास विभागमा निवेदन दिएको छ । विभागले लिवर्टीलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाएको छ । लिवर्टीले २५ मेगावाटको अपर दोर्दी ‘ए’ जलविद्युत आयोजना निर्माण गरिसकेको छ । कम्पनीले आयोजनाबाट बिजुली उत्पादनको तयारी गर्दै छ ।
दुई वटा आयोजना सम्पन्न भएपछि जडित क्षमता ४९.६ मेगावाट पुग्ने छ । बडीखोलाबाट वार्षिक १४ करोड ५७ लाख ३४ हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।
आयोजनाको ग्रसहेड १५५ मिटर रहेको छ । आयोजनाबाट २०८४ असार १५ गतेदेखि व्यवसायिक रुपमा बिजुली उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । आयोजनाको मुख्य संरचना बडीगाड खोलाको बायाँ किनारमा पर्छ । बाँधको लम्बाइ ५४.७५ र उचाइ ५.६ मिटर रहने छ । ६ किलोमिटर सुरुङ खन्ने प्रस्ताव गरिएको छ ।
८.२६ मेगावाटको ३ वटा टवाईनबाट बिजुली उत्पादन गर्ने लक्ष्य रहेको छ । आयोजनाबाट उत्पादन हुने बिजुली बागलुङको बुर्तिबाङस्थित १३२ केभी सबस्टेशनमा जोडिने भएको छ ।
आयोजना बागलुङको ढोरपाटन नगरपालिका बडीगाड र निसी गाउँपालिका, गुल्मीको मलिका र मुसिकोट गाउँपालिका भएर बडीगाड खोला बग्ने गरेको छ ।
दोर्दी आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ । कम्पनीले १.५ मेगावाटको लोदोखोला आयोजनाको संभाव्यता अध्ययन गरिरहेको छ ।
लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा रहेको छ । आयोजना विसं २०७४ मा सम्पन्न गर्ने लक्ष्य लिइए पनि भूकम्पपछिको अघोषित नाकाबन्दी र विसं २०७६ भदौमा आएको बाढी र कोरोना महामारीले आयोजना पछि धकेलिँदै आएको छ ।
निर्माण अवधि लम्बिँदै जाँदा ४ अर्ब ६४ करोड रुपैयाँ पुग्ने अनुमान छ । आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख रुपैयाँ लाग्ने अनुमान गरिएकोमा योभन्दा बढी हुने बताइएको छ ।