काठमाडौं । गैरआवासीय नेपालीको लगानीमा स्थापना भएको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले औषधि उत्पादन थालेको छ । उद्योगले विभिन्न ३१ प्रकारका औषधि उत्पादन गरी बजारमा पठाउने तयारी गरेको उद्योगका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताए । बाँकी १४ प्रकारका औषधि पछि छिट्ट उत्पादन थाल्ने उनले जानकारी दिए ।
उद्योगले क्याप्सुल, सिरप, ट्याबलेट, क्रिम, आँखा र कानका ड्रप्स र झोल औषधिका साथै खोपको पनि उत्पादनका लागि तयारी गरिरहेको छ ।
३ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा ५६ हजार वर्गफिटको मुख्य भवन निर्माण गरिएको छ । उद्योगमा २२ फिट उचाइ कायम गरेर निर्माण गरिएको छ ।
उद्योग चितवनको जुगेडीमा रहेको छ । उद्योगमा श्रेष्ठलगायत अन्य गैरआवासीय नेपालीको गरी १ अर्ब २ करोड रुपैयाँ लगानी भएको छ । लगानी गर्नेमा श्रेष्ठसहित ११ जना छन ।
ठूलो क्षेत्रफलमा एउटै बिल्डिङ र त्यसमा पनि उचाइ कायम गरेर निर्माण गरिएको औषधि उद्योग नेपालमा पहिलो भएको श्रेष्ठको भनाइ छ । उद्योगले सुरुमा कार्डियो डाइबिटिज रोगको औषधि उत्पादन सुरु गरेको छ । यसको ट्याब्लेट, क्याप्सुललगायत उत्पादन थालेपछि अरु औषधिको बजार हेरेर अनुमति लिँदै उत्पादन थाल्ने श्रेष्ठले बताए ।
उद्योगका लागि प्लान्ट चीन र भारतबाट झिकाइएको हो भने औषधि उत्पादनका लागि कच्चापदार्थ टर्की, चीन र भारतबाट ल्याउन थालेको श्रेष्ठले जानकारी दिए ।
उद्योगले युरोपियन स्ट्यान्डर्डमा औषधि उत्पादन थालेको छ । सोहीअनुसार औषधिको गुणस्तर र मापदण्डमा रहेको छ । उद्योगले ५० भन्दा बढी औषधि उत्पादनका लागि औषधि व्यवस्था विभागसँग अनुमति मागेको छ । उत्पादन हुने समयमा थप औषधि उत्पादनको अनुमति पाउने उद्योगले जनाएको छ ।
हाल मुलुकभर ७३ वटा औषधि उद्योगहरु सञ्चालनमा छन् । नेपालमा औषधिको बजार ४५ अर्ब रुपैयाँको छ । त्यसमध्ये आधा नेपाली उद्योगहरुको रहेको छ । नेपालमा औषधिको बजार बर्सेनि २० प्रतिशतले बढ्दै गइरहेको छ ।
१० करोडको आईपीओ निष्कासन गर्ने
नेपालमा सञ्चालनमा रहेका ७३ वटै औषधि उद्योगले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गरेका छैनन् । ओम मेगाश्री सञ्चालनमा आउनासाथ आईपीओ निष्कासनको तयारी थालेको छ । उद्योगले १० करोड रुपैयाँको आईपीओ निष्कासन गर्न लागेको सञ्चालक श्रेष्ठले जानकारी दिए ।
उद्योगले आईपीओ निष्कासन गर्न प्रभु क्यापिटल लिमिटेडसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
गैरआवासीय नेपाली, औषधि व्यवसायमा विज्ञता हासिल भएका व्यक्ति तथा विशेषज्ञ डाक्टरहरु आबद्ध तथा ईयू फर्मा टेक्निकल सपोर्ट रही ओम मेगाश्रीको औषधि उत्पादन गर्ने छ ।
फर्मास्युटिकल्स क्षेत्रमा पहिलो भई सर्वसाधारणमा सेयर जारी गर्ने निर्णय कम्पनीले गरेको कम्पनीका अध्यक्ष श्रेष्ठले जानकारी दिए । यसबाट अन्य फर्मास्युटिकल्सलाई आईपीओ निष्कासन गर्न बाटो खुलेको उनको भनाइ छ ।
अध्यक्ष श्रेष्ठ एनआरएनएका पूर्वउपाध्यक्ष हुन । उनको नेपाल र युरोपको बेल्जियममा बिजनेस रहेको छ । उद्योगी श्रेष्ठको नेपालमा अक्सिजन प्लान्ट, अस्पताल, मेडिसिन, टेक्सटायल, जलविद्युत्, वित्तीय र होटल तथा रेस्टुराँमा लगानी रहेको छ ।