काठमाडौं । राजधानीको मुटु मानिने दरबारमार्ग र न्युरोड क्षेत्रमा जग्गाको भाउ थप महँगिएको छ ।
यी क्षेत्रमा प्रतिआना ६ लाख रुपैयाँ बढेको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/०८० को न्यूनतम मूल्यांकन प्रतिवेदनअनुसार काठमाडौं उपत्यकाभित्र दरबारमार्ग र न्युरोडलाई सबैभन्दा महँगो जग्गाको रुपमा लिइएको छ ।
मालपोत कार्यालयले आर्थिक वर्ष ०७९०८० का लागि निर्धारण गरेको न्यूनतम मूल्यअनुसार माइतीघर–सिंहदरबार पश्चिमगेट–पुतलीसडक–कृष्ण पाउरोटी–हात्तिसार–जय नेपाल–कान्तिपथ–जमल–दरबारमार्ग र घण्टाघरदेखि कमलादी मोडसम्मका मूलसडकसँग जोडिएका जग्गाहरुको दायाँबायाँ प्रतिआना ६६ लाख रुपैयाँ निर्धारण गरेको छ ।
एक वर्षअघि सोही ठाउँको जग्गाको मूल्यांकन प्रतिआना ६० लाख रुपैयाँ थियो ।
यस्तै ६६ लाख रुपैयाँ निर्धारण गरिएका क्षेत्रहरुमा जमल–रानीपोखरी–वीर अस्पताल–नेपाल वायुसेवा निगम–गोश्वारा हुलाक–त्रिपुरेश्वरसम्मको मूलसडकसँग जोडिएका जग्गा, रत्नपार्क–पुरानो बसपार्क–सहीदगेट हुँदै सुन्धारा चोकसम्म र सिहंदरबार पश्चिमगेट हुँदै भद्रकालीसम्म रहेका छन् ।
यस्तै केशरमहल प्रवेशद्वारदेखि पश्चिम ठमेल मूलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मूलबाटोमा जोडिएका जग्गा, हनुमानढोका, जिल्ला प्रहरी कार्यालय, पूर्वसूरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्व विश्वज्योति हल हुँदै तीनधारा पाठशालासम्म मूलबाटोसँग जोडिएका तथा महेन्द्र सालिकदेखि काठमाडौं प्लाजासम्म मूलसडकलाई तोकिएको छ ।
योसँगै हनुमानढोका पूर्व नयाँसडक, पुरानो नगरपालिका भवनको दक्षिणचोकबाट जुद्धशमशेर सालिक हुँदै इन्द्रचोकसम्म, न्युरोड पिपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पश्चिम पुरानो नगरपालिका भवन चोकसम्म, न्युरोड खिचापोखरी, धरहरासम्मको मूलसडकसँग जोडिएका जग्गाहरुको समेत प्रतिआना ६६ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
मालपोत कार्यालयले गरेको नयाँ मूल्यांकनमा मनोहरा पुल, अरनिको राजमार्ग, चक्रपथ (रिङरोड)–तीनकुने –गैरीगाउँ–सिनामंगल–तिलगंगा–गौशाला–मित्रपार्क हुँदै चाबहिल मालपोत कार्यालयसम्मको मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गाको प्रतिआना ३५ लाख २० हजार तोकिएको छ ।
यस्तै बालकुमारी पुलदेखि कोटेश्वर हुँदै तीनकुने –मीनभवन–नयाँबानेश्वर–बिजुलीबजार–थापाथली–त्रिपुरेश्वर हुँदै विष्णुमति पुलसम्मका मूलसडकसँग जोडिएका जग्गाको मूल्य प्रतिआना ३९ लाख ६० हजार, वनस्थली–बालाजु–गोंगबु–महाराजगन्ज–नारायणगोपाल चोक) क्षेत्र (चक्रपथ मूलसडक) मा ३५ लाख २० हजार, नयाँबानेश्वर चोकदेखि कान्तिपुर डेन्टल हस्पिटल चोकसम्मका बाटोसँग जोडिएका जग्गाहरुको ३९ लाख २० हजार, पुरानो बानेश्वर चोकदेखि गौशाला चोकसम्मका मूलबाटोसँग जोडिएका जग्गाको ३९ लाख ६० हजार, माइतीघर मण्डला, पुरातत्व विभागबाट पूर्व सिंहदरबार दक्षिणगेट–हनुमानस्थानसम्मको मूलबाटोमा ३९ लाख ६० हजार, पुरानो बानेश्वर चोकदेखि भीमसेनगोला चोक हुँदै सिनामंगल बागमती पुल हुँदै केएमसी चक्रपथसम्म मूलबाटोमा जोडिएका सडकमा प्रतिआना ३७ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।
न्युरोड र दरबारमार्गको जग्गाको मूल्य निर्धारण उच्च रहेकै बेला नयाँ बानेश्वर, शंखमूल क्षेत्रमा २६ लाख ४० हजार, मीनभवन र नयाँ बानेश्वरको भरोसा अस्पताल, कृष्णटावर, बुद्धनगर क्षेत्रलाई २४ लाख २० हजार प्रतिआना तोकिएको छ भने जिल्ला प्रशासन कार्यालय काठमाडौंअगाडिको मूलसडकसँग जोडिएका जग्गाहरुको भने ३९ लाख ६० हजार रुपैयाँ तोकिएको छ ।
यस्तै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको दक्षिणगेटबाट नेपाल कमर्स क्याम्पस हुँदै श्रीनगर क्षेत्र, तीनकुने शान्तिनगर, भीएस निकेतन क्षेत्र, कोटेश्वर क्षेत्रलाई २४ लाख २० हजार र थापाथली–प्रसूतिगृह हुँदै माइतीघर क्षेत्रमा ३६ लाख ४० हजार निर्धारण गरेको छ ।
साथै पुरानो बानेश्वर चोक–मैतिदेवी–अनामनगर–कालिकास्थान हुँदै ज्ञानेश्वरसम्म ३५ लाख २० हजार, डिल्लीबजार–पुतलीसडक जोड्ने आरालो क्षेत्रमा ३७ लाख ४० हजार, घट्टेकुलो मार्गमा २६ लाख ४० हजार, अनामनगर क्षेत्रमा २६ लाख ४० हजार, मैतिदेवीदेखि सेतोपुलसम्म २६ लाख ४० हजार, अनानगर–हनुमानस्थान–थापागाउ हुँदै नयाँ बानेश्वर सम्मेलन केन्द्रको पश्चिमगेटसम्म ३५ लाख २० हजार, गौशाला चोकबाट रातोपुल हुँदै ज्ञानेश्वर–सिटी सेन्टर–कमलपोखरी–कृष्ण पाउरोटीसम्म र डिल्लीबजार हुलाक सेवासम्म ३५ लाख २० हजार, कमलादीभित्र ३७ लाख ४० हजार, कुमारी हल–पुतलीसडक जोड्ने मूलबाटोमा २६ लाख ४० हजार, कमलपोखरी–किस्ट कलेज हुँदै नक्सालसम्म ३० लाख ८० हजार, कमलपोखरी क्षेत्रमा ३५ लाख २० हजार, सामाखुसी–कपुरधारा क्षेत्रमा ३० लाख ४० हजार,मित्रपार्कदेखि पशुपतिसडकसम्म प्रतिआना २४ लाख २० हजार रुपैयाँ तय गरिएको छ ।
यसबाहेक लैनचौर चोकदेखि–होटल र्याडिसन–पानीपोखरी–टिचिङ–नारायणगोपाल चोकसम्मका मूलबाटोसम्म र भाटभटेनी सुपरमार्केट,विशालनगर, चण्डोल हुँदै चप्लकारखाना धुम्बाराही चोकसम्म ३५ लाख २० हजार, मित्रपार्क–कालोपुल–सानो गौचरण नक्साल हुँदै हात्तीसारसम्मको मूलसडकमा ३९ लाख ६० हजार, बालुवाटारमा ३३ लाख, टंगाल, हाडीगाउँ क्षेत्रका सडकमा ३० लाख ८० हजार तोकिएको छ । सुन्धारा चोक हुँदै वसन्तपुर दरबार स्क्वायरसम्म, सोह्रखुट्टे ओरालो, क्षेत्रपाटी र खानी तथा भूगर्भ विभागबाट भारतीय दूतावास मूलगेटसम्म ३७ लाख ४० हजार,असन–बांगेमूढा हुँदै न्ह्यूखासम्म २८ लाख ६० हजार रहेको छ ।
महाबौद्ध, इन्द्रचोक, रञ्जनामार्ग क्षेत्रमा ४४ लाख, वीर अस्पताल र ट्रमा सेन्टरबीचको महांकाल मन्दिर निस्कने बाटो क्षेत्रमा ३७ लाख ४० हजार, पुतलीसडक–बागबजार–रत्नपार्कसम्म र कुमारी बैंक चोकदेखि पुरानो बसपार्क हुँदै सभागृह चोकसम्मको मूलसडकसँग जोडिएको जग्गाको ४८ लाख ४० हजार, बालाजु रिङरोडलाई ३३ लाख, नारायणगोपाल चोकदेखि उत्तर सहिद गंगाल हृदयरोग प्रतिष्ठान हुँदै चाबहिल मालपोत क्षेत्रको मूलसडकमा २८ लाख ६० हजार, धोबीखोला करिडोरसँग जोडिएका जग्गाहरु २४ लाख २० हजार, कोटेश्वर जडिबुटी चोकदेखि उत्तर पेप्सीकोला चोक हुँदै मनहरा पुलसम्मका मूलसडक क्षेत्रमा २२ लाख र नयाँ बसपार्क क्षेत्रमा प्रतिआना जग्गोको ३९ लाख ६० हजार निर्धारण गरेको छ ।