काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले असार मसान्तमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पुर्याउन कृत्रिम/नक्कली निक्षेप खडा गरेको पाइएको छ । खासगरी २०७९ असार मसान्तमा केन्द्रीय बैंकले तोकेको सीमा सीडी रहेको देखाउन नक्कली निक्षेप (आर्टिफिसियल डिपोजिट) सिर्जना गरिएको हो । असार मसान्तमा बढेको निक्षेप घट्न थालेपछि केन्द्रीय बैंकले अध्ययन गर्दै जाँदा नक्कली निक्षेप खडा गरेको पाइएको हो ।
नक्कली निक्षेपहरु क्रमशः ट्रयाकमा ल्याउँदा, भारतीय आयल निगमको पैसा तिर्न आयल निगमलाई भुक्तानी दिँदा, बैंकहरुमा रहेको आफ्नो पैसा सरकारी खातामा सार्दा निक्षेप घटेको केन्द्रीय बैंकको बुझाइ छ । त्यति मात्रै नभएर प्रणालीबाटै पैसा हराएको केन्द्रीय बैंकको अनुमान छ ।
२०७९ असार ३२ गते ५१ खर्ब ५३ अर्ब रहेको कुल निक्षेप साउन १० गते आइपुग्दा ५० खर्ब ६१ अर्बमा झरेको छ । पछिल्लो १० दिनमा ९२ अर्ब रुपैयाँ निक्षेप घटेको छ । निक्षेप घट्दै गएको असार ३२ मा ८६.२२ प्रतिशत रहेको सीडी साउन १० मा आउँदा ८७.५ प्रतिशतमा पुगेको छ ।
असारमसान्तसम्म सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुले कर्जा निक्षेप अनुपात ९० प्रतिसतमा सीमित राख्नुपर्ने भएपछि वित्तीय संस्थाहरुले हुने÷नहुने सबै काम गरेको बुझाई केन्द्रीय बैंकको छ । गत वर्ष असोजमा पनि बैंकहरुले विदेशी मुद्राको खातामा नक्कली निक्षेप खडा गरेर सीडी गणना गरेको पाइएको थियो ।
राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले गभर्नर महाप्रसाद अधिकारीलाई आर्टिफिसियल डिपोजिटका बारेमा बताइसकेका छन् । ढकालले आर्टिफिसियल डिपोजिट साउन लागेसँगै विस्तारै मिलाउन थालिएकाले निक्षेप घटेको रिपोर्टिङ गराएका थिए । केन्द्रीय बैंकलाई छलेर कृत्रिम निक्षेप देखाउन थालेपछि नियमनमाथि प्रश्न उठेको छ ।
सुपरीवेक्षण विभागका अनुसार बैंकहरुले १४ अर्ब हाराहारी नक्कली निक्षेप सिर्जना गरेका देखिएको छ । नक्कली निक्षेप खडा गरेर सीडी मेन्टेन गरेको, नेपाल आयल निगमलाई १६ अर्ब रुपैयाँ भुक्तनी गरेको, बैंकमा संकलन भएको राजस्व पनि सरकारको ट्रेजरीमा गएकाले निक्षेप अप्रत्यासित रुपमा घटेको केन्द्रीय बैंकले दाबी गरेको छ । निक्षेप रकम वाणिज्य बैंक तथा वित्तीय संस्थाहरु दुवैतर्फ घटेको छ ।
मानौं, सीडी सीमाभन्दा तल हुने बैंकले सीडीमाथि हुने बैंकलाई १० रुपैयाँ दियो । उक्त बैंकले सो रकम लिएर आफ्नो सीडी व्यवस्थापन गर्यो र उक्त बैंकले पनि अर्को बैंकलाई सोही रकम र सम्पत्ति दायित्व सारिदियो । समग्रमा बैंकहरुले ३० रुपैयाँको निक्षेप देखाए । सुरुमा १० रुपैयाँ दिने बैंकलाई सबैले उक्त रकम फिर्ता गर्दा निक्षेप घटेको देखिएको हो ।
एक बैंकरका अनुसार नक्कली निक्षेपबाट सीडी मेन्टेन गरेकाले अहिले निक्षेप घटिरहेको हो । केन्द्रीय बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार नक्कली निक्षेप सिर्जना गर्दा समग्र डिपोजिटमा केही असर परेको देखिन्छ ।
तर, बैंकरहरुले भने प्रणाली बाहिरबाट आउने सामानको भुक्तानीका लागि प्रणाली पैसा प्रयोग गरिएको बताउँछन् ।
उनीहरु सरकार र राष्ट्र बैंक मिलेर विभिन्न सामान आयातमा बन्देज लगाए ती सबै जसो सामान आयात भइरहेको बताउँछन् । सरकारले आयात रोके पनि नेपाली बजारमा सबै खाले सामान उपलब्ध छ । चोरी पैठारी भएर आएका सामानको भुक्तानीमा पनि प्रणालीकै पैसा प्रयोग भएको बैंकरहरुको भनाइ छ ।
त्यसले पनि निक्षेप घटेको हो । ‘चोरी पैठारी भएर ल्याएको सामानको पैसा तिर्न प्रणालीबाट पैसा झिकिएको छ । प्रणालीबाट पैसा निस्किएर भारत वा अन्य मुलुकमा पुगेको छ,’ एक बैंकरले भने, ‘न देशले राजस्व पायो, नत आयात नै पूर्ण रुपमा रोकियो ।’
केन्द्रीय बैंकले निक्षेप घट्नुमा तीन कारण औंल्याएको छ । आयाल निगमलाई भुक्तानी, असार मसान्तमा काटिएका सरकारी चेकहरुको भुक्तानी, सरकारी राजस्व निक्षेपका रुपमा रहेको स्थितिमा सरकारले आफ्नै खातामा सारेको जस्ता कारण मानेको छ ।
केन्द्रीय बैंकका अनुसार गत आर्थिक वर्षमा ६० अर्ब रुपैयाँ हाराहारी निक्षेप घटेको थियो । बैंकरहरुले निक्षेप झन्डै १ खर्ब २० अर्ब रुपैयाँसम्म घट्न सक्ने आँकलन गरेका छन् ।