काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले फोहोर दिएबापत जनतालाई पैसा तिर्ने गरी काम थाल्न लागेको बताएका छन् ।
मन्त्रालय सम्हालेको महिना दिन पुगेको अवसरमा बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले एक महिने उपलब्धि र आगामी योजना सार्वजनिक गरेका छन् ।
फोहरबापत जनताले मासिक पैसा तिर्नु परेकामा फोहर दिएबापत जनतालाई उल्टै पैसा दिनुपर्ने गरी काम थाल्न निर्देशन दिएको बताए । मलुक बनाउने जिम्मा सबैको रहेको बताउँदै मन्त्री चौधरीले बन्चरे डाँडामा फोहोर फाल्न दैनिक करिब २५० ट्रक कुद्ने, फोहोर फाल्न जाँदा बाटोमै खसाल्ने कुरा, सिसडोल र बन्चरे डाँडाका जनतालाई हेयका दृष्टिले हेर्ने कुरालाई अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
स्थानीयवासीसँग १७ वर्षमा १७४ पटक सम्झौता भएको तर अहिलेसम्म टुंगो नलागेकाले अब नयाँ ढंगले फोहोर व्यवस्थापन हुने उनले बताए । फोहोरबाट मल, ग्याँस र बिजुली निकाल्ने गरी काम सुरु गर्ने मन्त्री चौधरीको भनाइ थियो ।
मन्त्रालयको समग्र प्रगति ७०.१४ रहेकोमा असार महिनामा मात्र २६.२८ प्रतिशत वित्तीय प्रगति हासिल भएको सहरी मन्त्री चौधरीको भनाइ थियो ।
विद्यमान राष्ट्रिय सहरी नीति, २०६४ लाई परिमार्जन गरी राष्ट्रिय सहरी नीति २०७९ मन्त्रिपरिषद्मा पेस भएको, जनकपुर उपमहानगरपालिकामा अस्तव्यस्त रहेको बसपार्कलाई व्यवस्थित गर्न २० करोडको लागतमा आधुनिक बसपार्कको शिलान्यास भएको, पोखरामा करिब १ अर्ब र तिलोत्तमा नगरपालिकामा करिब ७८ करोडको लागतमा सडक निर्माण कार्यको सम्झौता भएको, उर्लाबारीमा करिब ५१ करोड र बिर्तामोडमा करिब ७६ करोड लागतमा सडक निर्माणकार्यका लागि बोलपत्र आव्हान गरेको, सहरी विकासमा सुझाव संकलन गर्न स्कुले विद्यार्थीदेखि इन्जिनियरिङ कलेजसम्मका विद्यार्थीसँग छलफल सम्पन्न गरेको, ठूला र विशेष आयोजनामा अनुगमन र समयमै काम सम्पन्न गर्न निर्देशन दिएको समेत मन्त्री चौधरीले बताए ।