काठमाडौं । लामो कसरतपछि नेपालले रासायनिक मल खरिद गर्ने भएको छ ।
नौ लाख मेट्रिक टन रासायनिक मल किन्न नेपालले भारतसँग ५ वर्षका लागि सम्झौता गरेको हो ।
सम्झौताअनुसार नेपाल सरकारले सन् २०२५ देखि २६ भित्र ४ लाख ५७ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार मेट्रिक टन डिएपी खरिद गर्नेछ ।
गत चैतमा मल खरिदका लागि भएको सरकार–सरकार (जीटूजी) सम्झौताबमोजिम नेपालको कृषि सामग्री कम्पनी लिमिटेड र भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) बीच खरिद समयको अन्तर्राष्ट्रिय मूल्यअनुसार खरिद गर्ने सम्झौता भएको हो ।
आर्थिक वर्ष ०८३/८४ सम्मका लागि मल खरिद गर्न साउन १ गते उक्त सम्झौता भएको हो ।
सम्झौताअनुसार पहिलो लट १ लाख ६० हजार मेट्रिक टन मल आगामी मंसिरसम्म नेपाल भित्रिने बताइएको छ । यस्तै दोस्रो वर्ष १ लाख १० हजार मेट्रिकटन युरिया र ६० हजार मेट्रिकटन डिएपी मल ल्याइनेछ ।
सम्झौताअनुसार दोस्रो वर्ष अर्थात चालू आर्थिक वर्षमा ६० हजार डिएपी, एक लाख १० हजार युरिया, तेस्रो वर्ष १ लाख १५ हजार युरिया र ८० हजार डिएपी मल ल्याइनेछ । यस्तै चौथो वर्ष एक लाख २० हजार युरिया र ९० हजार मेट्रिकटन डिएपी ल्याइने छ । पाँचौ वर्ष १ लाख २० हजार मेट्रिकटन युरिया, ९० हजार डिएपी मल ल्याइने छ ।
पहिलो वर्षको बाँकी एक लाख मेट्रिकटन युरिया र ५० मेट्रिकटन युरिया मल ल्याइने कृषि सामग्री कम्पनीले जनाएको छ ।
भारतीय कम्पनीले नेपाली कम्पनीकै नाममा बोरामा प्याकिङ सहित मल नाकामा बुझाउने सम्झौतामा उल्लेख छ । मलको ढुवानी गोदाम बिराटनगर, भैरहवा र वीरगन्ज नाका तोकिएको छ ।