काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ (फिनी) का पदाधिकारीबीच भेटवार्ता भएको छ ।
एफएनसीसीआई सचिवालयमा भएको भेटर्वार्तामा मुलुकका औद्योगिक क्षेत्रभित्र स~चालित उद्योगहरूमा उत्पन्न समस्याका बारेमा छलफल भएको हो ।
छलफलमा औद्योगिक क्षेत्रभित्र उद्योगहरूले उपभोग गरीरहेका जमिनको अप्रत्यासित भाडा वृद्धि, विद्युत डिमाण्ड शुल्क, जीर्ण भौतिक पूर्वाधार, पानी आपूर्तिमा समस्या र बृहत् औद्योगिक सम्मेलन लगायतका विषयमा छलफल भएको थियो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिको २०७९ असार २२ को निर्णयबाट ४ वर्ष अघिदेखि लागू गर्ने भनी ७ सय प्रतिशतसम्म भाडा वृद्धि गरी िबल औद्योगिक क्षेत्रभित्रका उद्योगहरूलाई पठाएपछि औद्योगिक क्षेत्रभित्रका उद्योगहरू समस्यामा परेको भेटवार्तामा बताइएको छ । लिमिटेडअन्तर्गतका १० वटा औद्योगिक क्षेत्रमा सरोकारवालाहरूसँगको परामर्श बिनै भाडावृद्धि गरी पत्र पठाएको फिनीकाले जानकारी गराएको छ ।
पछिल्लो पटक राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिस्थितिका कारण चल्नै नसक्ने अवस्थामा पुगेका उद्योगहरूलाई आपसी सहमतिका माध्यमबाट भाडा वृद्धि गर्नुको साटो एकतर्फीरूपमा गरिएको भाडा वृद्धिले मुलुकको समग्र औद्योगिक विकासमै प्रतिकूल असर पर्ने चिन्ता सो अवसरमा व्यक्त गरियो ।
भेटवार्तामा औद्योगिक क्षेत्रभित्र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाउने भन्दा पनि भएका जग्गा भवन भाडामा लगाएर आयआर्जन गर्ने प्रवृत्ति देखिएको प्रतिचिन्ता व्यक्त गरिएको थियो ।
त्यसैगरी औद्योगिक क्षेत्रभित्रका उद्योगहरूलाई ५० प्रतिशतभन्दा बढी विद्युत डिमाण्ड शुल्क लिइएको, पानीको सहज आपूर्तिको व्यवस्था नभएको, औद्योगिक क्षेत्र भित्रका भौतिक संरचनाहरू पुनस्निर्माण गरी प्रयोग गर्न योग्य बनाउनेतर्फ पहल नभएकोलगायतका गुनासो फिनीले गरेको छ । फिनीले आफूले उठाएका मुद्दाहरुमा साथ दिन एफएनसीसीआईलाई आग्रह गरेको छ ।
सो अवसरमा एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छाले फिनीले उठाएका मुद्दाहरु जायज भएको बताए । उनले कठिन अवस्थाबाट गुज्रिरहेको अर्थतन्त्र र उद्योग व्यवसायलाई राहत दिई काम गर्न सक्ने वातावरण बनाउनुपर्नेमा उल्टो हतोत्साहित बनाउने निर्णय गरिनु चिन्ताजनक भएको बताए । भाडा वृद्धिको निर्णय समय सान्दर्भिक नभएकाे अध्यक्ष गोल्छाको भनाइ छ । जग्गा र भवन भाडामा लगाएर राजस्व उठाउने प्रवृत्तिनै सही नभएको उनको तर्क थियो ।
उनले फिनीको माग पूरा गराउन सहयोग गर्ने प्रतिबद्धता जनाए। फिनीले राखेको वृहत् औद्योगिक सम्मेलन आयोजना गर्नेबारे महासंघले आन्तरिक तयारी गरेर अगाडि बढ्ने उनले स्पष्ट पारे ।
यस्तै, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, उद्योग समितिका सभापति भरतराज आचार्यले फिनीले उठाएका मुद्दाहरुमा महासंघको साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।
फिनीका अध्यक्ष रामहिरा पाठकले दुवै महासंघले मुलुकभित्र औद्योगिक वातावरण बनाउने विषयमा एउटै स्वर र अवधारणामा जानुपर्ने र आफ्नो संस्थाले उठाएका मुद्दाहरुमा एफएनसीसीआईको पूर्ण सहयोग पाउने आशा आफूहरूले गरेको बताए ।
सो भेटवार्तामा फिनीका अध्यक्ष पाठकले फिनीले उठाएका मुद्दाहरु एफएनसीसीआईका अध्यक्ष गोल्छालाई हस्तान्तरण गरेका थिए ।
छलफलमा एफएनसीसीआईका कार्यकारिणी समितिका सदस्यहरू, महासंघका महानिर्देशक, फिनीका पदाधिकारीहरूको उपस्थिति थियो ।