ताइवानको इलेक्ट्रोनिक्स म्यानुफ्याक्चरर फक्सकन कम्पनी र भारतको वेदान्ता ग्रुप मिलेर लगानी गर्ने योजना बनाइरहेका छन् ।
यी दुवैले भारतको महाराष्ट्रमा २० खर्ब भारु (नेपाली ३२ खर्ब) लगानी गर्ने भएका हुन् ।
यो पछिल्लो समयमा महाराष्ट्रमा आएको ठूलो लगानीमध्येको एक हो ।
दुवैको जोइन्ट भेन्चर बनाएर महाराष्ट्रमा सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ गर्ने योजना बनाएका छन् ।
यो लगानीले महाराष्ट्र अर्को ‘सिलिकन भ्याली’ बन्न सहयोग पुग्ने बताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भारतमा सेमिकन्डक्टर निर्माणार्थ एक इकोसिस्टम तयार गर्ने बताइसकेका छन् । केन्द्रीय सरकारले डिसेम्बर २०२१ मा ७६ हजार करोड भारुको लगानीमा सेमिकन इन्डिया कार्यक्रमलाई अनुमति दिएको थियो ।
तीन चरणमा स्थापित हुने
वेदान्ता र फक्सको प्रतिनिधिमण्डलले महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्दे तथा उपमुख्यमन्त्री देवेन्द्र फडणवीससँग वार्ता गरिसकेको छ । वार्तामा सिन्देले वेदान्ता–फक्सकनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।
यो परियोजना तीन चरणमा स्थापित हुनेछ ।
दुई लाख रोजगारी
यो जोइन्ट भेन्चरले २० खर्बभन्दा बढी भारु लगानी गर्नेछ । जसमा १.५ देखि २ लाखसम्म प्रत्यक्ष–परोक्ष रोजगारी सिर्जना हुनेछ ।
यसबापत सरकारले १२ खर्ब ५२ अर्ब ३० करोड माल तथा सेवा कर पाउनेछ । यस्तै अन्य स्रोतबाट ४० हजार करोड रुपैयाँ भारु प्राप्त गर्नेछ ।
पुणेमा प्रोजेक्ट
अनिल अग्रवालको नेतृत्वमा वेदान्ता–फक्सकन जोइन्ट भेन्चर डिस्प्ले फेब्रिकेसनमा १० अर्ब भारु इन्भेस्ट गर्नेछ । यसबाहेक पनि भेन्चरले सेमिकन्डक्टरमा ६३ हजार करोड रुपैयाँ र सेमिकन्डक्टर एसेम्बली तथा टेस्टिङ सुविधामा करिब ४ हजार करोड भारु खर्च गर्नेछ ।
यो प्रोजेक्ट पुणेको तलेगाउँमा सुरु हुने बताइएको छ ।