काठमाडौ । सीई कन्स्ट्रक्सन कम्पनी ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । प्रवर्द्धक हाइड्रो भिलेज प्रालिमा सीईले प्रवर्द्धन गरेको ऊर्जा डेभलपर्स लिमिटेडमार्फत आयोजनामा लगानी गर्न लागेको हो ।
आयोजनामा लगानी गर्ने विषयमा ऊर्जा डेभलपर्स र हाइड्रो भिलेजबीच सम्झौता भएको छ । दुबै कम्पनीले संयुक्त उपक्रममार्फत आयोजना विकास गर्ने छन् ।
आयोजना सम्पन्न गर्न १० अर्ब रुपैयाँ ७४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा कुल लागतको ७५ प्रतिशत लगानी बैंकहरूले गर्दैछन । २५ प्रतिशत स्वपुँजी लगानी रहनेछ ।
कम्पनीले मसेलियाको सेर्बा दिनामिक इन्टरनेसनल लिमिटेडले पनि लगानी गर्ने बताइएको छ । आयोजनामा लगानी गर्ने विषयमा हाइड्रो भिलेजका अध्यक्ष क्या. रामेश्वर थापा र ऊर्जा डेभलपर्सका अध्यक्ष विजय राजभण्डारीले हस्ताक्षर गरेका छन् ।
ऊर्जा डेभलपर्स आफैले ५३.५ मेगावाटको अपर म्याग्दीखोला आयोजना निर्माण गर्दै छ ।
आयोजना बनाउन हाल २४ किलोमिटर लामो पहुँच सडक र आवासगृहलगायत पूर्वाधारको काम भइरहेको छ । अपर म्याग्दीको बिजुली किन्ने विषयमा कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता (पीपीए) भइसकेको छ ।
यस्तै अपर म्याग्दीमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले २० प्रतिशत स्वपुँजी (इक्विटी) लगानी गर्ने भएको छ । आयोजनाबाट सन २०२३ मा व्यावसायिक रूपमा बिजुली उत्पादन सुरु गर्ने लक्ष लिएकोमा हालसम्म निर्माणको काम सुरु नभएकाले पछि धकेलिने संभावना बढेको छ ।
आयोजनाबाट सुक्खायाममा १० करोड ३१ लाख १० हजार युनिट र वर्खामा २३ करोड २८ लाख ८० हजार गरी वार्षिक औसत ३३ करोड ५९ लाख ९० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।
नदी प्रवाही (रन अफ दि रिभर) आयोजनाबाट उत्पादित बिजुली आयोजनास्थलदेखि १७ किलोमिटर दूरीमा प्राधिकरणले निर्माण गर्ने कालीगण्डकी कोरिडोरको १३२ केभी डाँडाखेत सबस्टेसनमा जोडिनेछ । निर्माण अवधिभर आयोजनाको सुपरिवेक्षणलगायत कार्यका लागि हाइड्रो कन्सल्ट इन्जिनियरिङ कम्पनी रहेको छ ।