काठमाडौं । सडक विभागले गत आर्थिक वर्ष २०७८/०७९ मा १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो । तर, आर्थिक वर्षको अन्त्य अर्थात् २०७९ असार मसान्तसम्म ६१८ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ ।
विभागले लिएको १ हजार किलोमिटरको लक्ष्य पूरा हुन सकेन । यो लक्ष्यको ३४.३३ प्रतिशत मात्रै हुन आउँछ । अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा सडक विभागले वार्षिक १४ सय किलोमिटर कालोपत्रे गर्ने लक्ष्य लिएको थियो ।
जसमध्ये २०७८ असार मसान्तसम्म ११ सय ९० किलोमिटर भएको थियो । जुन आर्थिक ०७७/७८ को वार्षिक लक्ष्यको ८५ प्रतिशत हुन आउँछ । कोरोना महामारी संक्रमणकै बीच आर्थिक वर्ष ०७७/७८ मा सडक कालोपत्रेको ८५ प्रतिशत लक्ष्य पूरा गरेको थियो । यो आर्थिक वर्ष ०७७/७८ को तुलनामा ५०.६७ प्रतिशतले कमी हो ।
तर, पुल निर्माणको क्षेत्रमा भने आर्थिक वर्ष ०७७/७८ मा भन्दा ०७८/७९ मा ३० प्रतिशत बढी प्रगति भएको छ । ०७७/७८ र ०७८/७९ मा बराबारी अर्थात् ३/३ सयवटा मोटोरेबल पुल निर्माण गर्ने लक्ष्य सडक विभागले राखेको थियो । जसमध्ये ०७७/७८ मा १९२ वटा पुल मात्रै निर्माण गरेको विभागले ०७८/७९ मा १ सयवटा बढी अर्थात् २८२ वटा पुल निर्माण गरेको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष ०७८/७९ मा विभागले ग्रावेल सडक ८ सय किलोमिटर निर्माण गर्ने लक्ष्यमा ३३५ किलोमिटर मात्रै बनेको छ । त्यस्तै माटे सडक ३५० किलोमिटर बनाउने लक्ष्यमा २८० किलोटिर मात्रै सम्पन्न भएको छ ।
कालोपत्रे स्तरको सडक पुनःनिर्माण तथा पुनस्र्थापनाको वार्षिक लक्ष्य ६०० किलोमिटर रहेकामा ४२३ किलोमिटर मात्रै पूरा भएको विभागले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणमा उल्लेख छ ।
त्यस्तै आर्थिक वर्ष ०७८/०७९ मा आवधिक सडक मर्मतको योजना ५५० किलोमिटर राखेकोमा २५० किलोमिटर मात्रै मर्मत गरेको छ । सडक विभागले सडक कालोपत्रेको क्षेत्रमा वार्षिक लक्ष्य निर्धारण गरेको ३ वर्षको विवरण हेर्ने हो भने पनि एक रूपता देखिँदैन ।
०७७/७८ मा वार्षिक लक्ष्य १४ सय किलोमिटर, ०७८/७९ मा १८ सय किलोमिटर थियो भने आर्थिक वर्ष ०७९/८० मा ८ सय किलोमिटरमा सीमित गरेको छ ।
आर्थिक वर्ष ०७८/७९ मा लक्ष्यअनुसार सडक कालोपत्रे हुन नसक्नुको कारण बजेट कार्यान्वयनमा ढिलाइ, पर्याप्त बजेटको अभाव र निर्माण व्यवसायीहरूले गरेको कन्ट्रक्सन होलिडे (निर्माण कार्य बन्द) रहेको सडक विभागका महानिर्देशक (डीजी) अर्जुनजंग थापा बताउँछन् ।
क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने, ‘प्रतिस्थापन बजेटको कारणले गर्दा सुरुमा रकम खर्च गर्न मिलेन सँगै हामीलाई सम्बन्धित आयोजनाको लागि पर्याप्त बजेट प्राप्त नहुँदा निर्माण व्यवसायीलाई रकम दिन सकेनौं र पेट्रोलयम पदार्थको मूल्यवृद्धिको कारण कन्ट्रक्सन होलिडे भएकाले पनि लक्ष्य पूरा गर्न समस्या भएको हो ।’
सडक कालोपत्रेको लक्ष्य निर्धारण भने देशका विभिन्न आयोजनामा वर्षभरि काम गर्ने योजनालाई जोडेर तयार गर्ने उनको भनाइ छ । अघिल्लो आर्थिक वर्ष १८ सय किमिको लक्ष्य राख्नुमा पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको ५८ अर्ब रुपैयाँ बराबरको निर्वाचन क्षेत्र सडक पनि कालोपत्रे गर्नुपर्ने भएकाले लक्ष्य बढी भएको डीजी थापा बताउँछन् ।
सडक विभागले सडक कालोपत्रेमा मात्रै होइन बजेट खर्च गर्न पनि गर्न सकेन । आर्थिक वर्ष ०७७/७८ मा ६६.२७ प्रतिशत बजेट खर्च गरेको विभागले आर्थिक वर्ष ०७८/०७९ मा ५५.१८ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।
जुन ०७७/७८ को तुलनामा ११.०९ प्रतिशतले कम हो । त्यस्तै ६३ वटा आयोजनाका लागि बजेट विनियोजन गरेको विभागले ५ वटा आयोजनामा ०७८/७९ मा कुनै पनि काम गर्न सकेको छैन ।