म्याग्दी । चार वर्षअघि पहिरोले क्षति पुर्याएपछि बन्द भएको धवलागिरि गाउँपालिका–२ लुलाङको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पुनःनिर्माण भएको छ ।
विसं २०७२ साउनमा जुगेपानीको पहिरोले नहर बगाएपछि र विद्युत गृहमा क्षति पुगेपछि २५ किलोवाट क्षमताको परियोजना बन्द भएको थियो । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र गाउँपालिकाको सहयोगमा पुनःनिर्माण भएको परियोजनाको क्षमता बढाएर ४२ मेगावाट बनाइएको छ ।
विसं २०७५ चैतदेखि शुरु भएको पुनःनिर्माण सकिएपछि भदौ अन्तिम हप्तादेखि बिजुली बलेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिए । “बाँध, नहर, विद्युत्गृह नयाँ ठाउँमा बनाइएको छ”, उपाध्यक्ष छन्त्यालले भने, “पुराना काठका जोखिमयुक्त पोल फेरिएको छ, मुख्य र वितरण लाइनको तार पुरानै हो ।”
परियोजना पुनःनिर्माणका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ८६ लाख रूपैयाँ, गाउँपालिकाले ५० लाख रूपैयाँ विनियोजन गरेका थिए । कूल लागतको १० प्रतिशत उपभोक्ताको श्रमदान छ ।
उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर पुर्जाले लघुजलविद्युत् परियोजना पुनःनिर्माण भएपछि लुलाङ, खोरिया, मरेनी र लमसुङका ३४० घरधुरी लाभान्वित भएकाे बताए । लुलाङ म्याग्दी जिल्लामा सबैभन्दा धेरै दलित समुदायको बसोबास भएको वडा हो ।
“ठूलो सङ्घर्ष, श्रम र अथक प्रयासपछि बिजुली बाल्न सफल भयौँ”, अध्यक्ष पुर्जाले भने, “परियोजना सञ्चालन भएपछि गाउँ झिलीमिली भएको छ ।” खबाङको दोभानमा बाँध रहेको परियोजनामा ७२५ मिटर लामो पाइपलाइनमार्फतमा ल्याइएको पानीलाई ६२ मिटर अग्लो हेडबाट विद्युतहमा खसालेर बिजुली उत्पादन गरिएको छ ।
मरेनीको फेदी र दरखोलाको किनारमा विद्युतगृह बनाइएको उपभोक्ता समितिका सचिव लालबहादुर खड्काथोकीले बताए । तत्कालै केन्द्रीय लाइनको विद्युत् पुर्याउन सम्भव नदेखिएकाले लघुजलविद्युत् बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए ।
“यो गाउँपालिकाको गौरवको आयोजना हो”, उनले भने, “भविष्यमा केन्द्रीय प्रसारण लाइनका लागि समेत प्रयोग गर्न मिल्ने विद्युतका पोल राखेका छौँ ।”
उज्यालोका लागि सौर्यबत्ती र टुकी बाल्नुपर्ने अवस्था हटेको स्थानीयवासी टेकलाल रसाइलीले बताए । घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युतबाट चल्ने उपकरणमा आधारित साना उद्योग प्रभावित भएका छन् ।
मोबाइल चार्ज गर्न, टिभी हेर्न, रेडियो सुन्न सहज भएको वडाध्यक्ष गमप्रसाद विकले बताए ।