काठमाडौं । सार्वजनिक निजी साझेदारीको चिलिमे जलविद्युत कम्पनी लिमिटेडले नयाँ आयोजना निर्माण गर्न लागेको छ । कम्पनीले सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा रहेको ८७ मेगावाटको सेती नदी–३ अर्धजलासय (पीआरओआर) जलविद्युत आयोजना बनाउन लागेको हो ।
चिलिमेले प्रस्तावित आयोजना सहायक कम्पनीमार्फत बनाउने भएको छ । आयोजना बनाउन चिलिमेले वातावरणीय अध्ययन प्रतिवेदन तयारीको काम थालेको छ । आयोजना बझाङको जयपृथ्वी नगरपालिका पानकोटमा प्रस्ताव गरिएको छ । आयोजनाको बाँध १४ मिटर अग्लो र ६७ मिटर लामो बन्ने चिलिमेले जानकारी दिएको छ ।
बाँधमा ३ लाख घनमिटर क्षमताको पोखरी बन्ने छ । आयोजनाको सुरुङ ४.२५१ किलोमिटर लामो हुनेछ । आयोजनाको विद्युतगृह जयपृथ्वी नगरपालिकाको सुतियामा हुने भएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली विद्युत प्राधिकरणले प्रस्ताव गरेको चैनपुर सबस्टेसनमा जोडिने भएको छ ।
आयोजनाबाट बझाङको जयपृथ्वीका साथै खप्तछान्ना गाउँपालिका, मष्टा गाउँपालिका, छविसपाथिमेर गाउँपालिका र थलारा गाउँपालिका प्रभावित हुने आयोजनाले जनाएको छ ।
सहायक कम्पनीहरुबाट २७० मेगावाटका ३ ठूला आयोजना निर्माण गरिरहेको चिलिमेले जलविद्युतमा थप लगानी बढाउने तयारी स्वरुप नयाँ आयोजनाहरुको विस्तृत अध्ययन अघि बढाएको छ । नयाँ आयोजनाहरुको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीको काम भइरहेको चिलिमेले जनाएको छ ।
चिलिमेले अघि बढाएका ३ वटा जलविद्युत आयोजनाको जडित क्षमता ५६७ मेगावाट छन । सेती नदीका साथै ४२० मेगावाटको बूढीगण्डकी प्रोक क्यासकेड र ६० मेगावाटको चुमचेत स्यारखोला आयोजनाको डीपीआर तयारीका लागि अध्ययनको काम भइरहेको चिलिमेले जनाएको छ ।
डीपीआरपछि आयोजनाको क्षमता बढ्ने संभावना छ । आयोजनाको विस्तृत इन्जिनियरिङको काम सहायक कम्पनी चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेडमार्फत भइरहेको छ ।
प्रस्तावित आयोजना डीपीआर तयारपछि छुट्टाछुट्टै कम्पनीबाट निर्माण हुने भएको छ । हाल आयोजनाहरुको अध्ययनमा भएको खर्चलाई चालु पुँजीमा देखाइएको छ । कम्पनी स्थापना भएपछि स्वामित्व हस्तान्तरण हुने चिलिमेले जनाएको छ । आयोजना बनाउन चिलिमेले कर्मचारी सञ्चय कोषबाट ऋण लिने तयारी गरेको छ । ४ आयोजना सञ्चय कोषको ऋण लगानीमा निर्माण सुरु भएको हो ।
नयाँ स्थापना हुने जलविद्युत कम्पनीहरुमा प्रदेश सरकारको पनि सेयर लगानी हुने भएको छ । प्रस्तावित सबै आयोजना जनताको जलविद्युत आयोजनामा रहेका छन । आयोजनामा लगानी जुटाउन सर्वसाधारणलाई ४९ प्रतिशत सेयर बिक्री गर्ने योजना छ ।
रसुवागढी र सान्जेन यो वर्ष आउने
चिलिमेले सहायक कम्पनीमार्फत निर्माण गरिरहेको १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको माथिल्लो तथा तल्लो सान्जेन र १०२ मेगावाटको मध्य भोटेकोसी आयोजनाको निर्माण जारी छ । यी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । भूकम्प, नाकावन्दी, बाढी र पछिल्लो समयमा कोरोना महामारीले आयोजनाको काम अवरुद्ध हुँदै आएको छ ।
१६८ मेगावाट क्षमताका ३ वटा आयोजना चाालू आर्थिक वर्षभित्र बिजुली उत्पादन हुने छ । यस्तै १०२ मेगावाटको मध्य भोटेकोसी आयोजना पनि आगामी आर्थिक वर्षबाट बिजुली उत्पादन थाल्ने छ । ४ वटा आयोजना सम्पन्न भएपछि चिलिमेलेको जडित क्षमता बढेर ३९२ मेगावाट पुग्ने छ ।
चिलिमेले २२ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ । ४ वटा आयोजनाबाट बिजुली उत्पादन सुरु भएपछि चिलिमे आर्थिक रुपमा सबल हुन गई लगानीकर्तालाई बढी प्रतिफल दिन सक्षम हुने छ ।