काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बैंकरहरूसँग कडा रूपले प्रस्तुत भएका छन् । शुक्रबार जारी मौद्रिक नीतिबारे छलफल गर्न पुगेका बैंकरहरूसँग बाहिर जथाभावी बोलेको भन्दै गभर्नर अधिकार जंगिएका हुन ।
उनले बैकरहरूलाई सञ्चारमाध्यमको प्रयोग गरेर मनपरी समाचार लेख्न लगाएर राष्ट्र बैंकको बदनाम गर्न खोजेको आरोपसमेत लगाए ।
मौद्रिक नीति जारीपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र बैंकर्स संघका केही पदाधिकारीबीच यो पहिलो भेटघाट थियो । ६ गते जारी मौद्रिक नीतिबारेमा छलफल गर्न भन्दै बैंकर्स संघका पदाधिकारीले गभर्नर अधिकारीलाई भेट्न समय मागेका थिए ।
गभर्नर अधिकारीले अन्तिम ऋण दाता सुविधाबारे बैंकरले राष्ट्र बैंकको बद्नाम गर्न खोजेको बताए ।
गभर्नर सुरुमै रिसाएर प्रस्तुत भएपछि आफूहरुले भन्न खोजेको कुरासमेत भन्न नसकेको सहभागी एक बैंकरको भनाइ छ ।उनकाअनुसार मौद्रिक नीतिमा भएका व्यवस्थाहरुमा केही प्रष्टीकरण आवश्यक रहेको भन्न गएका थिए ।
भेटमा प्रतीतपत्र (एलसी) खोल्दा बैंकरले आयात गरिने सामानको मूल्य आफैंले अध्ययन गर्नुपर्ने विषय निक्कै पेचिलो रहेकाले त्यसलाई पुनर्विचार गर्नुपर्ने माग उनीहरुले राखेका थिए । उनीहरुबीच तरलताका बारेमा पनि छलफल भएको थियो ।
बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय, उपाध्यक्ष सुनिल केसी, पूर्वअध्यक्ष अशोक राणा, ज्ञानेन्द्र ढुंगानालगायत गभर्नरलाई भेट्न पुगेका थिए।