काठमाडौं । नेपालको औषधी बजारमा स्वदेशी उद्योगको हिस्सा बढ्दै गएको छ । एक दशकअघि १० प्रतिशत हारहारीमा रहेको नेपाली औषधीको हिस्सा अहिले बढेर ५० प्रतिशतसम्म पुगेको छ ।
उद्योगीकाअनुसार नेपाली उद्योगले वार्षिक २३ अर्ब रुपैयाँको औषधी उत्पादन तथा बिक्री वितरण गर्दै आएका छन् । बाँकी औषधी भारत लगायतका तेस्रो मुुलुहरूबाट आयात हुने गरेको छ ।
विशेष गरी क्यान्सर, मृगौला र मुटुलगायत ठूला रोगका औषधी विदेशबाट आयात हुने गरेको छ । औषधीको बजार प्रत्येक वर्ष १८ देखि २० प्रतिशतले बढ्दै गएको सम्बद्ध उद्योगीहरुले बताएका छन् ।
सरकारको उचित सहयोग हुन सक्यो भने अबको केही वर्षमै मुलुकलाई आत्मनिर्भर बनाउन सकिने दावी उद्योगीको छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारी नीति र उपयुक्त वातावरण बन्न सक्यो भने छिट्टै नेपाललाई औषधीमा ८० देखि ९० प्रतिशत आत्मनिर्भर बनाउन सकिने तर्क उद्योगीहरूको छ ।
साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड एन्भारोमेन्ट (साउती) को तथ्याँकअनुसार नेपालमा वर्षेनी औषधी प्रयोगकर्ताको संख्या १५ प्रतिशतले वृद्धि भइरहेको छ । सो मागलाई पुरा हुने गरी स्वदेशमै औषधी उत्पादन हुन सकेको छैन ।
साउतीका अध्यक्ष एवंम अर्थशास्त्री डा. पोषराज पाण्डेले ४५ अर्ब रुपैयाँको बजार हिस्सामा नेपाली औषधी उत्पादकहरुको ५० प्रतिशत योगदान रहेको उल्लेख गरेका छन् ।
विभिन्न चुनौतीहरुलाई पार गर्दै नेपाली उत्पादकहरुले आवश्यक औषधीहरु उत्पादन गर्दै लगेको र सरकारले आवश्यक सहजीकरण गर्न सके आत्मनिर्भरतर्फ उन्मुख भएको उनको भनाई छ । साउतीकै प्रतिवेदनअनुसार अहिले नेपालमा २० हजार २३२ वटा खुद्रा पसल र ३ हजार ३५१ वटा थोक पसलबाट औषधीको कारोबार हुँदै आएको छ ।
कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) मा औषधी उद्योगको योगदान ६.७ प्रतिशत रहेको छ । सन २०१९ कै तथ्यांकलाई आधार मान्दै हाल मुलुकभर ७३ वटा औषधी उद्योगहरु सञ्चालनमा रहेको जनाएको छ । मुटुरोग थेराप्यूटिक समूहहरुमा स्वदेशी उत्पादकहरुको हिस्सा लगभग ५० प्रतिशत छ भने एन्टिबायोटिक, मधुमेह औषधिहरुमा ३० देखि ४० प्रतिशत प्रयोग हुने गरेको छ ।
इनहेलर, इन्जेक्टेबल, क्रिटिकल केयर, क्यान्सर प्रतिरोधी, भ्याक्सिनहरु विदेशबाट आयात गरिदै आएको छ । सञ्चालनमा रहेका मध्ये ३० औषधी उद्योगहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्युटीओ)ले निर्धारण गरेको कुशल उत्पादन विधि (जीएमपी)मा सर्टिफाइट गर्ने प्रक्रिया अगाडी बढाएका छन् ।
नेपालमा सबैभन्दा बढी औषधी ग्यास्ट्रीक, स्वासप्रश्वास, मुटु, दात, दुखाई कम गर्ने (पेनकिलर) रहेका छन् । साउतीले दिएको रिपोर्टमा ७३ प्रतिशत आन्तरिक उत्पादनमा भएका औषधीहरु प्रयोग हुने गरेको छ । यस्तै कार्डेटिक थेरापी ५० प्रतिशत सेयर छ भने एन्टीबायोटिक्स ड्रग्स ३० देखि ४० प्रतिशत प्रयोग हुने गरेको छ ।
औषधी उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले विभिन्न समस्याका बाबजुद पनि उत्पादनमा जोड दिइरहेको बताए । सरकारको नीतिगत समस्याको कारणले पर्याप्त मात्रामा औषधी उत्पादन गर्न नसकेको उनको भनाई छ । औषधीहरु उत्पादन गरे पनि सरकारले अनुमति नदिएकै कारण रोकिएको भन्दै सरकारले बाटो सहजिकरण गरिदिनुपर्ने उनले बताए ।
संघले आफ्ना समस्याहरु सुनाउन र समधानका लागि छलफल गर्नका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई बोलाएका थिए । तर, सचिव पोखरेल भने अन्तिम समयमा उपस्थित भएनन् । सहभागीहरुले जसलाई आफ्नो समस्याहरु सुनाउनु पर्ने हो तीनै निकायका अधिकारी उपस्थित नभएको भन्दै उद्योगीहरुले आक्रोशसमेत पोखेका थिए ।
नेसनल हेल्थकेयर सबैभन्दा अगाडी
साउतीका अनुसार उत्पादन, बजारलगायत सबै हिसावले नेसनल हेल्थकेयर अग्रस्थानमा रहेको छ । त्यसपछि देउराली जनता फर्मास्युटिकल रहेको साउतीले जनाएको छ ।
यस्तै नेपाल फर्मास्युटिकल, अरिस्टो फर्मास्युटिकल, लोमश फर्मास्युटिकल, एसिएन फर्मास्युटिकल, टाइम फर्मास्युटिकल,आर्या फर्माल्याब, इनतास फर्मास्युटिकल, एमटीच मेड, मगनस फर्मा र क्रस फर्मास्युटिकल रहेका छन् । यसैगरी
अल्किम ल्याबराटोरिज, माइक्रो ल्याब, सन फर्मास्युटिकल, सिप्ला, ग्लिनपार्क फर्मास्युटिकल, अबोट र ब्लूक्रस ल्याबराटोरिजको औषधीहरु नेपालमा बढी आयात हुने गरेको छ ।