काठमाडौं । निजी लगानीमा लुम्बिनीको सिद्धार्थनगर नगरपालिकामा २०० शैयाको अत्याधुनिक अस्पताल निर्माण सुरु भएको छ ।
नेपालगञ्ज मेडिकल कलेजका सञ्चालकहरुको लगानीमा सिद्धार्थ नगरमा एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटी हस्पिटल निर्माण सुरु भएको हो ।एडभान्समा नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक कमल भण्डारी र भैरहवाका सुरज उप्रेतीको संयुक्त लगानी रहेको छ ।
विदेशी नागरिकलाईलक्षित गरी निर्माण थालिएको अत्याधुनिक अस्पताल बनाउन ३ अर्ब ४२ करोड रुपैयाँ लगानी हुने भएको छ । जसमध्ये संस्थापकहरुको स्वपुँजी (इक्विटी) ८५ करोड र बाँकी २ अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण लगानी हुनेछ ।
अस्पतालमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को अगुवाइमा नबिल बैंकले ऋण लगानी गर्ने भएका छन् । एडभान्स इन्टरनेसनल र बैंकहरुबीच सहवित्तीयकरण ऋण सम्झौता सम्पन्न भएको छ । हस्पिटल बनाउन निफ्राले १ अर्ब ५४ करोड तथा नबिल बैंकले १ अर्ब रुपैयाँसम्म लगानी गर्नेछ भने यसकाे ऋण भुक्तानी अवधि १४ वर्षको छ ।
एडभान्स विशुद्ध हस्पिटल मात्र रहेको छ । यसको मेडिकल कलेज भने छैन । अस्पताल आगामी दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी काम सुरु गरेको अध्यक्ष कमल भण्डारीले क्यापिटल नेपाललाई बताए । उनले अस्पतालको भौतिक पूर्वाधारहरुको निर्माण सुरु भएको जानकारी दिए ।
अस्पतालको पूर्वाधार निर्माण गर्न निर्माण व्यवसायी परिचालन भइसकेको छ । विदेशबाट आवश्यक उपकरण आयात गर्न प्रतितपत्र (एलसी) खोल्ने काम पनि सुरु भएको भण्डारीले जानकारी दिए । सरकारले ३ वर्षको समय दिए पनि २ वर्षमै सञ्चालनमा ल्याउने तयारी अस्पताल व्यवस्थापनको छ ।
परियोजना निर्माण कार्य समयमै सम्पन्न गरि व्यवसायिक सञ्चालन सुरु गर्ने प्रतिबद्धता अध्यक्ष भण्डारीले व्यक्त गरेका छन् । उक्त हस्पिटलले लुम्बिनी प्रदेशको स्वास्थ्य सेवामा विशिष्टिकृत योगदान पुर्याउने अपेक्षा गरिएको उनको भनाइ छ ।
अस्पतालले विदेशीका साथै भारतको लखनउ र गोरखपुरसम्मका विरामीको उपचार गर्ने लक्ष्य राखेको छ। अस्पतालले विशेष गरी मुटुका रोगी (कार्डियो) र स्त्रीरोग (गाइनो) रोगलाई लक्षित गरेको अध्यक्ष भण्डारीको भनाइ छ। अस्पतालमा बिरामी कुरुवा बस्नु नपर्ने व्यवस्था मिलाइने भएको छ।
यस्तै, बिरामीका लागि आवश्य औषधिहरु पनि हस्पिटलको सिस्टमले सम्बन्धित स्थानमा ल्याइदिने व्यवस्था गरिने भएको छ । हाल सञ्चालनमा रहेका हस्पिटल भन्दा धेरै आधुनिक हुने भण्डारीले जानकारी दिए । हस्पिटल ४२ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । हस्पिटल सिद्धार्थ नगरपालिका वडा नम्बर ८ अञ्चलपुरमा रहेको छ ।