काठमाडौं । नेपाल मदिरा पैठारी संघ (लिआन) ले सरकारले आयातित मदिराजन्य पर्दाथमा लगाएको प्रतिबन्ध तत्काल नहटाए प्रतिकूल प्रभाव पर्ने जनाएको छ ।
सरकारले कार, मदिरा, सुर्तिजन्य तथा अन्य विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध यही श्रावण १ गतेबाट ४५ दिनका लागि थप गरेको छ ।
सरकारले बोतलबन्द आयातित मदिराजन्य पदार्थबाट वार्षिक लगभग ३३० करोड राजस्व प्राप्त गर्ने, जुन वार्षिक बाहिरिने विदेशी मुद्राको दुई गुणाभन्दा बढी हुने संघको भनाइ छ ।
हाल उपलब्धताको कमीले बजारमा केही अन्तराष्ट्रिय ब्रान्डका नक्कली सामान देखिन थालेपछि यसले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने संघले जनाएको छ।
उच्च भन्सारशुल्क र अन्तःशुल्कका कारण नेपाल एमआरपी र भारतीय एमआरपीमा ठूलो अन्तर भएकाले भारतको उत्तरप्रदेश र पश्चिम बंगाल हुँदै सीमापारीबाट लोकप्रिय ब्रान्डका मदिरा तस्करी हुन थालेकामा संघले चिन्ता व्यक्त गरेको छ ।
‘होटल, रेस्टुरेन्ट र बारहरु (होरेबा) ले ठूलो आय आर्जनको क्षमता गुमाउँदैछन् । अब तिनीहरूको दिगोपनमा प्रश्न बनेको छ । बढ्दो लागतको दबाबले होरेबा कर्मचारीहरुलाई हटाउन बाध्य हुनेछन् र यसले व्यापकरुपमा बेरोजगारी निम्त्याउँछ,’ संघको भनाइ छ ।
औसतमा १५ डलर प्रतिलिटर विदेशी मुद्रा बाहिरिइरहेको छ । तर, जब होरेबा च्यानलमा बेचिन्छ, प्रतिलिटर १२० डलर राजस्व आर्जन हुन्छ । जुन विदेशी मुद्राको ८ गुणा हो र यो सम्पूर्ण मूल्यमा नेपाल भित्रै प्रतिलिटर १५० आर्जन हुने संघको दाबी छ ।
तर, तस्करी भएर आउँदा पर्यटनमा नकारात्मक असर पर्ने संघले जनाएको छ ।