काठमाडौं । धरहरा अवलोकनमा निस्किएका सहरी विकासमन्त्री मेटमणि चौधरीले ठेकेदार कम्पनीका प्रतिनिधिलाई कम्तीमा आफ्नो इज्जतको पनि ख्याल गर्न भनेका छन् ।
आयोजना निर्देशक कोषनाथ अधिकारीबाट धरहरा निर्माण आयोजनाको प्रगति विवरण सुनिसकेपछि मन्त्री चौधरीले ठेकेदार कम्पनीका प्रतिनिधितर्फ लक्षित गर्दै भने, ‘परियोजना सुरु गर्नुअघि चुनौतीबारे किन ख्याल नगरेको ? चारपटक म्याद थप भइसकेछ । अब कतिपटक थप्नुपर्ने ? कम्तीमा आफ्नो इज्जतको त ख्याल गर्नुस् । पैसा मात्रै कमाउन खोजेजस्तो नगर्नुस् ।’
‘करिब आधा मात्र काम हुँदा पनि तत्कालीन प्रधानमन्त्रीलाई उद्घाटनका लागि किन हौस्याउनुभयो ? मैले पनि त्यस्तै काम गर्न थाले भने रोक्नुपर्ने दायित्व तपाईंहरुको होइन ?,’ सचिवतर्फ हेर्दै मन्त्री चौधरीले प्रश्न तेस्र्याएपछि सबैजना गम्भीर बनेका थिए ।
‘धेरैको आशा भएको ठाउँ हो । काम छिटो गर्नुस् । नत्र पेनाल्टीसमेत हुन सक्छ,’ मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले पनि ताकेता गरे ।
आयोजना निर्देशक अधिकारीले धरहरा निर्माण परियोजनाको प्रगति विवरण प्रस्तुत गर्दै भने, ‘कुल ३ अर्ब ४८ करोड १६ लाख ९१ हजार २३८ रुपैया ४६ पैसा (भ्याट सहित) को लागतमा २ वर्षमा सक्ने गरी सम्झौता भएको थियो । चारपटक म्याद थप भइसकेको यस परियोजनाको अन्तिम मिति ०७९ असोज मसान्त रहेको छ । हालसम्म भौतिक निर्माणतर्फ ७५ प्रतिशत र वित्तीयतर्फ करिब ६६ प्रतिशत काम सम्पन्न भएको छ ।’
जीआईईटीसी रमन जेभी (सम्झौता कम्पनी) का प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले ५ रोपनीबाट काम सुरु गरिएको तर नेपाल राष्ट्र बैंकको टक्सार विभाग, हुलाक कार्यालय, कर्मचारी सञ्चय कोषको भवनसमेत हटाउँदा धरहरा निर्माण परियोजनाको क्षेत्रफल ४२ रोपनी पुगेको बताए । त्यसैकारण पनि बढी समय लागेको उनको भनाइ थियो ।
उनका अनुसार धरहराभित्र २ वटा लिफ्ट सिस्टम हुनेछन् । लिफ्टमा एकपटकमा १० जना चढ्न मिल्नेछ । अर्थात् एकैपटकमा २० जनाले धरहरा चढ्ने अवसर प्राप्त गर्नेछन् । यसअघि स्पाइरल भ¥याङ रहेकामा अब भने तलातला छुट्याइएको छ । साथै धरहरा अपांगमैत्री पनि रहेको छ ।
डबल बेसमेन्टमा धरहरा ठडिएको छ भने २ वटा स्केलेटर पनि रहेका छन् । ट्रिपल बेसमेन्ट पार्किङ एरियामाथि गार्डेन (ल्यान्ड स्केपिङ), मण्डला, ३ वटा म्युजिकल वाटर फाउन्टेन, टिकट काउन्टर, सिटिङ एरिया, बाइसधारा, फुड कोर्ट (इटरी ब्लक), शौचालय, ४ तले मिन्ट म्युजियमसमेत रहने जनाइएको छ ।
पार्किङका लागि ३ तले अन्डरग्राउन्डको व्यवस्था गरिएको छ । जसमध्ये दुई तलामा करिब २४१ गाडी र बाँकी एक तलामा झन्डै ७५८ मोटरसाइकल रहने व्यवस्था गरिएको छ ।
पुरातात्विक दृष्टिकोणले मानन्धर गुठीको कुलदेवता, पाटी (फाल्चा) बनाइएको छ भने जिर्ण अवशेषका रुपमा रहेको भीमसेन स्तम्भको पनि उचित ढंगले संरक्षण गरिने जनाइएको छ ।
परामर्शदाताका प्रतिनिधि अशोक मल्लले कोभिड र स्थानीय अवरोधका कारण पनि आयोजना ढिला भएको बताए ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले भौतिकतर्फ ५४ प्रतिशत र वित्तियतर्फ जम्मा ४२ प्रतिशत मात्रै काम हुँदा पनि धरहराको उद्घााटन गरेका थिए ।