काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक प्रदेश नं १ को पहिलो प्रादेशिक बैंक बन्ने भएको छ । प्रादेशिक बैंकको मान्यता पाउन प्रदेशभर बैंकिङ कारोबारको कार्यक्षेत्र हुनुपर्ने प्रावधान छ ।
यसअघि झापा, मोरङ, सुनसरी, इलाम र पाँचथर गरी पाँच जिल्लामात्र कार्यक्षेत्र रहेकामा बैंकको १६औँ वार्षिक साधारणसभाले क्षेत्र विस्तार गरी प्रदेशका १४ वटा जिल्लामा वित्तीय कार्यक्षेत्र हुने निर्णय गरेको छ ।
१७ वर्षअघि २ करोड रुपैयाँ पुँजीमा स्थापित यो बैंकले आफ्ना १ लाख ७० हजारभन्दा बढी ग्राहकलाई ४४ शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । ग्राहकको सेवामा समर्पित हुनुपर्छ भन्ने मान्यतामा उभिएर आफ्ना गतिविधि गरिरहेको एक्सेलमा २६६ कर्मचारी कार्यरत छन् ।
बैंकको साधारणसभाले कम्पनीको जारी र चुक्ता पुँजी १ अर्ब १५ करोड १७ लाख ९२ हजार १३९ बाट बढाएर १ अर्ब २४ करोड ९६ लाख ९४ हजार रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।
साधारणसभामा बैंकका अध्यक्ष महेन्द्रकुमार गोयलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनका अनुसार आव २०७८ चैतसम्ममा बैंकले ११ अर्ब २५ करोड ९४ लाख ९७ हजार निक्षेप संकलन गरी १० अर्ब ६९ करोड ८९ लाख ५८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । सोही अवधिसम्मको बैंकको खुद नाफा १० करोड ५८ लाख ६५ हजार रहेको जनाइएको छ ।
साधारणसभामा कम्पनीका पूर्वअध्यक्ष हेमराज ढकाल, सञ्चालक राजन शर्मा, सञ्चालक पर्शुराम दाहाल, प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेल, पूर्वसञ्चालक सुरेश बंशल, पूर्वसञ्चालक डा. रुपक खनाललगायतले मन्तव्य राखेका थिए ।
साधारणसभाले ८.५० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने र बोनस सेयरको कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्नेसमेत निर्णय गरेको छ ।