काठमाडौं । कृषिलाई उद्योगमा रूपान्तरण गरेको प्रतिष्ठित व्यावसायिक घराना निम्बस ग्रुपको व्यवसायको आकार बढ्दै गएको छ । ग्रुपका दुई कम्पनीहरुले मात्रै एक वर्षमा १८ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेका छन् ।
ग्रुपको प्रोबायोटेक इन्डिस्ट्रिज प्राइभेट लिमिटेड र निम्बस इन्टरनेसनल कम्पनीले एक वर्षमा कुल १८ अर्ब ३३ करोड रुपैयाँको कारोबार गरेका हुन् । प्रोबायोटेकले मात्रै वर्षमा ११ अर्ब १० करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ । प्रोबायोटेक कृषिजन्य उद्योग हो ।
ग्रुपको अर्को व्यापारिक संस्था निम्बस इन्टरनेसनलले ७ अर्ब २२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । निम्बस इन्टरनेसनलले मात्रै ९ महिनामा ४ अर्ब १५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
पशुदाना तथा खाद्य तेल उत्पादन गर्दै आएको नेपालकै ठूलो उद्योग प्रोबायोटिकको व्यापार सन् २०२१ साढे ३४ प्रतिशतले बढेको थियो । २०२० मा कम्पनीले ८ अर्ब २५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । २०२० को तुलनामा २०२१ मा २ अर्ब ८५ करोड ३० लाख रुपैयाँ आम्दानी बढेको छ ।
सन २०१९ मा ७ अर्ब ७३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । यस्तै सन् २०१८ मा ६ अर्ब ५ करोड रुपैयाँ आम्दानी गरेको थियो । ४ वर्षको वित्तीय विवरणअनुसार कम्पनीको व्यापारको ग्राफ निरन्तर उकालो लागेको छ ।
सन् २००१ मा स्थापना भएको प्रोबायोटेकले पशुको आहारा, खानेतेल र दाललगायत खाद्यान्न उत्पादन गर्दै आएको छ । उद्योगको उत्पादन क्षमता वार्षिक १ लाख टन छ । यो नेपालकै ठूलो प्लेट फिड उत्पादन गर्ने उद्योग हो । कम्पनीको वार्षिक वृद्धिदर ३१ प्रतिशत रहेको छ ।
प्रोबायोटेकको व्यापार दुई खण्डमा छ । दाना र खाना जस्तैः खाद्य तेल, दाल र पिठो रहेको छ । हालको अवधिमा दाना खण्डअन्तर्गत ब्रोइलर र लेयर फिड उत्पादन गरिएको छ ।
खाद्यअन्तर्गत सोयाबिन तेल र दाल उत्पादन गरिरहेको छ । कारखाना वीरगन्ज–२१, लिपानीबिर्ता जगरनाथपुरमा छ । कम्पनीले व्यञ्जन, शक्ति, शक्ति हाइगेन, सोयम्याक्स, सुनौलो किरण, प्रोबिट र प्रोमिन ब्रान्डका वस्तु उत्पादन गर्दै आएको छ ।
प्रोबायोटेकमा निम्बसको ६४ प्रतिशत हिस्सा छ । केही समयअघि कम्पनीले ४ अर्ब ३४ करोड १० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।
ग्रुपको अर्को कम्पनी निम्बस इन्टरनेसनलले २०२० मा ५ अर्ब ९१ करोड ४० लाख, २०१९ मा ४ अर्ब ४८ करोड ६० लाख र सन् २०१८ मा कम्पनीले ३ अर्ब ६८ करोड १० लाख रुपैयाँको कारोबार गरेको बताइएकाे छ ।
यस्तै सन् २०२२ मा कारोबार १५ प्रतिशतले बढेको छ । बढ्दै गइरहेकाे कम्पनीको कारोबार तीनवटा व्यापारिक खण्डहरूमा रहेको छ । जस्तै, खाना, जनावर पोषण र फिड सप्लिमेन्ट र कृषिजन्य वस्तुहरुको कारोबार रहेको छ ।
ग्रुपले सन् २००० मा स्थापना गरेको निम्बस इन्टरनेसनलले विभिन्न खाद्यान्नको आयात गर्दै आएको छ । कम्पनीले फलफूल, कृषि इनपुट, र पशुआहार पूरकपोषक तत्वहरूको आयात गर्दै आएको छ ।
कम्पनीले विभिन्न देशका साथै स्थानीय कृषकहरूबाट खाद्यान्न र पशुआहार पूरक खरिद गर्दछ । नेपालमा आफ्ना खरिद गरिएका केही वस्तुहरू आफ्ना डिलर र खुद्रा बिक्रेताहरूमार्फत सीधै बिक्री गर्छ ।कम्पनीले २ अर्ब १० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।
कृषिमा आधारित उद्योगमा धेरै अन्तरसम्बन्धित इकाइहरू भएको निम्बस समूह स्थापना भएको हो । पछिल्ला वर्षमा आम्दानी बढ्दै गएको छ । बिक्री वृद्धि गति दिगो भएका कारण यसको मार्जिन, पुँजीकरण र कभरेज सूचकहरू र कार्यशील पुँजीचक्रको अवस्था राम्रो रहेको छ ।
कम्पनीमा आनन्द अग्रवाल (बगरिया) र जगदिश अग्रवाल रहेका छन् । ग्रुपले व्यवसाय विस्तार गरेर वार्षिक ४० अर्बको कारोबार गर्ने लक्ष्य तय गरेको छ । लक्ष्यको झन्डै आधा गत वर्ष नै भइसकेको छ ।
नेपाल वेयर हाउसमा लगानी
ग्रुपले लगानी विस्तार गरिरहेको छ । ग्रुपको लगानीमा सुनसरीमा निर्माण गरेको छ । नेपाल वेयर हाउमा व्यावसायिक घराना निम्बस ग्रुपको ३५ प्रतिशत लगानी छ । गहुँ, मकै र भटमास जस्ता खाद्यान्न तथा दाना उद्योगजन्य वस्तुको संकलन गरी खरिद–बिक्री गर्न गोदाम निर्माण गरिएको हो ।