काठमाडौं । सिप्रदी अटोपार्टस् प्रालि र टाटा मोटर्स् लिमिटडको आयोजनामा नेपालभरि छरिएर रहेका १२ सयभन्दा बढी मेकानिकको सीप र क्षमताको प्रतिस्पर्धा सम्पन्न भएको छ ।
सो प्रतिस्पर्धामा बनेपाका उमेश मानन्धर प्रथम, बुटवलका अम्बर गुरुङ द्वितीय र काठमाडौंका डेम लामाले तृतीय स्थान हासिल गरेका छन् । प्रतियोगिता लिखित र मौखिक दुई चरणमा आयोजना गरिएको थियो । पहिलो चरणमा २ सय र दोस्रो चरणमा ३० जना प्रतिस्पर्धीको सहभागिता थियो ।
टाटा मोटर्स्का सवारी साधनहरूलाई देशको जुनसुकै स्थानमा जुनसुकै समयमा मर्मतसम्भार सहज रूपमा प्राप्त होस् भन्ने उद्देश्यले स्थानीय मेकानिक्सहरूसँग सहकार्यका विभिन्न कार्यहरू अगाडि बढाइएको छ । जसमध्ये टाटा गुरु कार्यक्रम एउटा महत्वपूर्ण कार्यक्रम रहेको छ, र तिनै टाटा गुरुहरूलाई आवश्यक तालिम, ज्ञान र क्षमता अभिवृद्धि गराउँदै पनि आएको कम्पनीले जनाएको छ ।
बजारमा रहेका टाटा गुरुहरूको क्षमताको परीक्षण गरी आवश्यक सुधार गर्नुपर्ने ठाउँहरूको पहिचान गर्नका निमित्त टाटा गुरुहरूको क्षमताको प्रतिस्पर्धा गर्ने कार्यक्रमको नाम गुरुक्षेत्र रहेको सिप्रदी अटोपार्टस् प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी बताए । साथै यस प्रतिस्पर्धाबाट उत्कृष्ट तीन जनालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि पठाइने कुरा उनी जानकारी गराए ।
३ सयभन्दा बढी मेकानिक्सको सहभागिता रहेको उक्त कार्यक्रममा अन्य विभिन्न क्षेत्र र विधामा पनि उत्कृष्टता हासिल गर्ने टाटा गुरुहरू पुरस्कृत भएका छन् । चितवनको सेभेन स्टार होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सम्बोधन गरेका थिए ।
सबै टाटा गुरुहरूको क्षमता अभिवृद्धिको जिम्मेवारी सिप्रदीले लिने पनि बताए । साथै कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनीजका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले पनि सम्बोधन गरेका थिए । टाटा मोटर्सका तर्फबाट इन्टरनेसनल बिजनेस हेड नीलकुमार मिश्रले सम्पूर्ण गुरुहरूलाई धन्यवाद भन्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि शुभकामना व्यक्त गरे ।