काठमाडौं । सेयर बजारमा मौद्रिक नीतिपछिको दोस्रो दिनको कारोबारले पनि रौनकता थपेको छ ।
मौद्रिक नीति सार्वजनिक भएपछिको २ दिनकै कारोबारमा नेप्सेले फराकिलो अंकको वृद्धि हासिल गरेको छ । यस दिन नेप्से सूचक ५४.४५ अंकले बढेर २१३२.९६ बिन्दुमा आइपुगेको छ । ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
पछिल्लो समयमा भएको यो उत्साहजनक कारोबार रकम हो ।
अहिले पुँजी बजारमा उत्साह आउनुमा २ प्रमुख कारण मानिएको छ । पहिलो, पुँजी बजारका लागि सकराात्मक मौद्रिक नीति आउने अनि अर्को भनेको सूचीकृत कम्पनीहरुको चोथो त्रैमासिक प्रतिवेदन निकै राम्रो अउनु रहेको छ । प्रारम्भिक प्रतिवेदनहरु निकै आकर्षक देखिएका छन् । यसबाट पनि लगानीकर्ताहरुको आत्मबल वृद्धि हुँदै गएको अनुमान गरिएको छ ।
सोमबार सूचकसँगै कारोबार रकममा पनि तेजी आएको छ । नेप्से सूचकका साथमा कारोबार रकममा पनि ह्वात्तै वृद्धि भएपछि आम लगानीकर्ता थप उत्साहित बनेका छन् । यसअघि छोटो समयमै अप्रत्याशित रूपमा बजार घट्दा आम लगानीकर्ता पेनिक बनेका थिए ।
मौद्रिक नीतिले केही राहत दिएपछि यतिबेला सेयर बजारका लगानीकर्ताको मनोबलमा सुधार भएको छ । अब अरु नीतिगत सुधार हुँदै जाने हो भने बजारमा उत्साह थपिँदै जानेछ । नयाँ लगानीकर्ता भित्रिनेछन् । यसबाट पुँजी बजारको विकासमा योगदान पुग्ने विश्लेषकहरू बताउँछन् । पुँजी बजारमा सुधार भएमा लगानीकर्तामात्र नभई राज्यले पनि पर्याप्त लाभ लिन सक्छ ।
आन्तरिक बजारमा पुँजी परिचालन हुनेछ । राज्यले पर्याप्त लाभकर पाउनेछ । त्यसो त अघिल्लो वर्ष पुँजी बजार बुम भएका बेला राज्यले १४ अर्ब रुपैयाँभन्दा बढी कर यही बजारबाट पाएको थियो । बजार सुधारका लागि नीतिगत र कानुनी बाधा अड्चन हटाउन सरकार र नियामक कटिबद्ध हुन आवश्यक छ ।
लगानीकर्ता पनि आवेग र उत्तेजनामा भन्दा पनि विवेकपूर्ण हिसाबले अघि बढ्नुपर्नेमा अनुभवीहरूको सुझाव छ । सबल वित्तीय सूचक भएका कम्पनीहरूमा योजनाबद्ध हिसाबले लगानी गर्न सके लाभ लिन सकिने उनीहरूको भनाइ छ ।
२१४ कम्पनी ९९ लाख ४४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड २९ लाख रुपैयाँभन्दा बढी कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । केही दिनदेखि शिवम् अग्रस्थानमा कारोबार भइरहेको छ । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण काबेली र नेपाल टेलिकम परेका छन् ।