काठमाडौं । आसन्न नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनका लागि अध्यक्षमा प्रगतिशील समूहको तर्फबाट सरोजकुमार पोखरेलले उम्मेदवारी दिने भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र समाजवादी पार्टी नेपालसँग निकट रहेका व्यवसायीको तर्फबाट पोखरेलले संयुक्त रुपमा उम्मदवारी दिने निर्वाचन परिचालन कमिटीका संयोजक रामप्रसाद भन्तनाले जानकारी दिए ।
संयुक्त व्यवसायीको तर्फबाट प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सन्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बू (तेजु) ले उम्मेदवारी दिनेछन् ।
सदस्यमा होमप्रसाद तिमिल्सिना, दलवीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नुर महोम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी र वीरेन्द्रकुमार यादवले उम्मेदवारी दिने संयोजक भन्तनाले जानकारी दिए ।
नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनमा सहभागी हुन ६५८ प्रतिनिधिले नाम दर्ता गराएका छन् । म्यानपावर धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनी कायम भए पनि १९६ कम्पनीले प्रतिनिधि पठाएका छैनन् ।
सङ्घको आसन्न निर्वाचनमा नेकपा र नेपाली काँग्रेस निकट म्यावनपार व्यवसायी आआफ्नो समूहको ‘प्यानल’ नै खडा गरेर चुनावी मैदानमा उत्रिएका छन् ।
सङ्घको नेतृत्व हातपार्न उनीहरु उम्मेदवार चयन गरी चुनावी रणनीति बनाउन जुटेका छन् । नेपाली काँग्रेस निकट व्यवसायी नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आजै अन्तिम सूची प्रकाशन
निर्वाचनका लागि दुई समूह बनाएका व्यवसायीका उम्मेदवारले धमाधम उम्मेदवारी दर्ता गरिरहेका छन् । सङ्घको कार्यालयमा उम्मेदवारी दर्ताको काम भइरहेको छ । शनिबार अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । त्यस्तै आजै उम्मेदवारमाथि परेको उजुरीको छानबिन हुने कार्यक्रम छ ।
साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गरिने सङ्घले जनाएको छ । भोलि साँझ ६ बजेसम्म निर्वाचनको प्रचारप्रसाद गर्न पाइनेछ । सङ्घको २७ औँ साधारणसभा यही असोज ७ गते राजधानीमा हुँदैछ । रासस