काठमाडौं। महँगी घट्नुको साटो लगातार बढ्दै जाने देखिएको छ। नेपाल राष्ट्र बैंकले गरेको प्रक्षेपणले यस्तो देखाएको हो। आगामी तीन महिनामा औसत मुद्रास्फीति दर १४.२ प्रतिशत पुग्ने प्रक्षेपण राष्ट्र बैंकले गरेको छ।
साथै आगामी एक वर्षमा मुद्रास्फीति दर ०.१ प्रतिशतले घटेर असारकै दर अर्थात् १४.१ मा पुग्ने आकलन गरेको छ। योसँगै मुद्रास्फीतिले दोहोरो अंक छुने देखिन्छ। खाद्यका केही शीर्षकबाहेक गैरखाद्य र सेवा व्यवसाय अधिकांशमा मूल्यवृद्धि हुने प्रक्षेपण गरिएको छ।
राष्ट्र बैंकले मुद्रास्फीति अपेक्षा सर्वेक्षण गर्दै उक्त नतिजा सार्वजनिक गरेको हो। गत असार २० देखि २७ गतेसम्म २८ सहरका ३१ बजार क्षेत्रका बासिन्दासँग अन्तर्वार्ता लिएर उक्त तथ्यांक तयार गरिएको राष्ट्र बैंकले जनाएको छ।
११ सय ४१ जनाको प्रतिक्रियालाई आधार बनाएर मुद्रास्फीतिले दोहोरो अंक छुने तथ्यांक सार्वजनिक गरिएको छ। अघिल्लो सर्वेक्षणको तुलनामा अहिलेको सर्वेक्षणमा २ सय १० थप भएको बताइएको छ।
सर्वेक्षणमा सहभागी भएकामध्ये ९४.७ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्। त्यसैगरी, ९४.४ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्।
आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश गत चैतको तुलनामा केही बढेको राष्ट्र बैंकले जनाएको छ। अर्को एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश थोरै घटेको बताइएको छ।
गैर खाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहहरूमा आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश गत चैतको तुलनामा बढेको छ। तरकारी र फलफूल तथा माछा, मासु, दूध, घ्यू र तेल उपभोग समूहबाहेकका सबै समूहहरूमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश गत चैतको तुलनामा घटेको राष्ट्र बैंकले जनाएको छ।
तीन महिनापछिको मध्य (मिडियन) अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७८ चैतको तुलनामा बढेको छ। एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति चैत, २०७८ को तुलनामा थोरै घटेको छ। तीन महिना र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमश: १४ प्रतिशत र १३.५ प्रतिशत रहेको सर्वेक्षणबाट देखिएको छ।
उपभोक्ताले अहिलेको मुद्रास्फीति १४ प्रतिशत रहेको महसुस गरेका छन्। व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति समान रहने तर मध्यम अवधिमा घट्ने अपेक्षा गरेको राष्ट्र बैंकले जनाएको छ।
सर्वेक्षण गरिएका २८ सहरहरुमध्ये सबैभन्दा धेरै मूल्यवृद्धि जुम्लामा हुने देखिन्छ। आगामी तीन महिनामा त्यहाँ मूल्यवृद्धि दर ७७.३ प्रतिशत पुग्ने अनुमान छ। आगामी एक वर्षमा मूल्यवृद्धि दर घटेर ९.३ प्रतिशतमा सीमित हुने देखिन्छ। असारमा मूल्यवृद्धि दर २९ प्रतिशत रहने देखिन्छ।
यस्तै, काठमाडौंको हकमा आगामी तीन महिनामा मूल्यवृद्धि दर औसतमा ११.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ। एक वर्षमा काठमाडौंको मूल्यवृद्धि दर १३.५ प्रतिशत पुग्ने प्रक्षेपण छ। असारमा काठमाडौंको मूल्यवृद्धि दर १४.४ प्रतिशत रहने अनुमान सर्वेक्षणले देखाएको छ।