काठमाडौं । पछिल्लाे समयमा काेराेना संक्रमण बढ्दै गएको छ । स्वास्थ्य मापदण्ड पालना गर्न कम गरेसँगै संक्रमण बढेकाे इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चुमनलाल दासले बताएका छन् ।
उनकाअनुसार बागमती प्रदेशभित्र कोरोनाका बिरामीको संख्या उच्च देखिएको छ, भने प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा धेरै बिरामीकाे संख्या काठमाडौं उपत्यमा रहेकाे छ । यस्तै, प्रदेश नं १ मोरङमा पनि कोराेनाका बिरामी बढ्दै गइरहेका छन् । उनले महामारीलाई मध्यनजर गरी भीडभाड नगर्न तथा सभा अनि सम्मेलन एवं गोष्ठीमा सहभागी नहुन तथा स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेका छन् ।
कोरोनाको संख्या बढेसँगै महामारी नियन्त्रणका लागि दुई हजार ८०० को हाराहारीमा आइसियू तथा एक हजार २७ भेन्टिलेटर एवं १५ हजार अक्सिजन सिलिण्डरका साथै १३२ अक्सिजन प्लान्ट तयारी अवस्थामा राखिएकाे दासले जानकारी दिए । उनकाअनुसार कारोनाका कारण ४३ प्रतिशतमा डिप्रेशन तथा ३३ प्रतिशतमा चिन्ता र २९ प्रतिशत विद्यार्थीमा भने बढी निन्द्रा लाग्ने समस्या भेटिइरहेको छ ।
३४ हैजाका बिरामी
कारोना महामारीसँगै ३४ जना हैजाका बिरामी भेटिएका सो शाखाका प्रमुख डा खगेश्वर गेलालले जानकारी दिए । उनकाअनुसार हैजाका बिरामी काठमाडौं उपत्यकामा दुई र नुवाकोटमा ३२ गरी ३४ भेटिएका छन् । दुईदेखि ६९ वर्ष उमेर समूहका २० पुरुष र १४ महिलामा सो समस्या देखिँदा खानेपानी तथा सरसफाईमा विचार पु¥याउन जरुरी रहेको उनको सुझाव छ ।
हवाइ यात्रा र नाकामा कडाइको व्यवस्था
मंकीपक्स विदेशी ७० मुलुकमा फैलिइरहेकाबेला हवाई यात्रा तथा नाकामा कडाइ गर्नुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले बताए ।
उनकाअनुसार छिमेकी मुलुक भारतमा मंकीसक्स तीन केसका बिरामी देखिएकाले नेपालमा पनि स्वास्थ्य सावधानी अपनाउन आवश्यक छ । मंकीपक्स हालसम्म भने नेपालमा पुष्टि भइसकेको छैन तर, विदेश यात्रा गर्दा र विभिन्न नाकाबाट नेपाल भित्रिँदा स्वास्थ्य सावधानी नअपनाए छिट्टै नेपालमा भित्रिन सक्ने चेतावनी पौडेलले उनले दिए ।