काठमाडौं । भारतीय लगानीमा निर्माणाधीन देशकै ठूलो ९०० मेगावाट क्षमता भएको अरुण तेस्रो जलविद्युत आयोजनाको काम ६१ प्रतिशत सकिएको छ ।
आयोजनाको काम अझै ३९ प्रतिशत बाँकी रहेको छ । हाल आयोजनाको सुरुङ खन्ने, बाँध निर्माण र प्रसारण लाइनको काम भइरहेको छ । यस्तै इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल उपकरणको आपूर्ति भइरहेको छ । आवश्यकताअनुसार यी उपकरणको जडान पनि सुरु भइसकेको आयोजनाले जनाएको छ । बर्खाले गर्दा आयोजनाको काम केही प्रभावित भएको छ ।
भारत निर्यातका लागि निर्माणाधीन आयोजना २०८० असारसम्म (सन् २०२३ को जुन) मा सम्पन्न गर्ने लक्ष्य छ । २०२३ को जनुमा सम्पन्न गर्ने लक्ष्य लिए पनि अझै धेरै काम बाँकी रहेकाले आयोजना पछि धकेलिने सम्भावना बढेको आयोजना स्रोतले बतायो ।
‘निर्धारित समयअनुसार आयोजनाको काम सकिन अब १ वर्ष पनि छैन । आयोजना केही समयपछि धकेलिन सक्छ,’ स्रोतले क्यापिटल नेपाललाई भन्यो । यद्यपि निर्धारित समयमा सक्ने गरी काम भइरहेको स्रोतको भनाइ छ । बाँध र विद्युतगृहको काम ५५ प्रतिशत मात्र सकिएको छ ।
आयोजनाको विकासकर्ता एसजेबीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी रहेको छ । अरुण तेस्रो सञ्चालनमा आएपछि नेपालले २१.९ प्रतिशत अर्थात् १९८ मेगावाट बिजुली निःशुल्क पाउँदैछ । निःशुल्क बिजुली ढल्केबरबाट दिने तयारी आयोजनाको छ । आयोजनाबाट वार्षिक ३ अर्ब ४६ करोड ६० लाख युनिट बिजुली उत्पादन हुनेछ । जसबाट नेपालले वार्षिक ७५ करोड ९० लाख ५४ हजार युनिट निःशुल्क बिजुली पाउनेछ ।
बोर्ड र एसजेबीएनबीच सन २०१४ मा भएको आयोजना विकास सम्झौता (पीडीए) मा निःशुल्क बिजुलीका साथै अतिरिक्त ऊर्जा लिन पाउने व्यवस्था छ । आयोजनाको लागत १ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ । यसअघि १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । यो लागत आयोजनाको उत्पादन र प्रसारण संरचना निर्माणको हो ।
आयोजनाको २०७४ वैशाख २९ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गरेका थिए । बाँधस्थलमा जयप्रकाश एसोसिएट्स निर्माण कम्पनी तथा विद्युतगृहस्थल क्षेत्रमा पटेल इन्जिनियरिङ कन्सल्टेन्टले काम गरिरहेका छन् ।
नेपालका नबिल र एभरेस्ट बैंकले सो आयोजनामा ऋण लगानी गरेका छन् । आयोजनामा भारत सरकार स्वामित्वको भारतीय स्टेट बैंक (एसबीआई) का अतिरिक्त, पन्जाब नेसनल बैंक, युनियन बैंक अफ इन्डिया र भारतीय एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकबाट ५३ अर्ब ७३ करोड ६८ लाख भारु अर्थात् ८५ अर्ब ९७ करोड ८८ लाख रुपैयाँ ऋण लगानी गरेका छन् ।
४ चरणमा गरी आयोजनाको काम भइरहेको छ । निर्माण अवधिबाहेक आयोजनाको अवधि २५ वर्षको छ । सन् २०४८ मा आयोजना नेपाललाई हस्तान्तरण गर्नुपर्ने छ । आयोजनाबाट उत्पादन हुने बिजुली ढल्केबर हुँदै ४०० केभी प्रसारण लाइनबाट भारतमा पुग्नेछ । विद्युतगृह दिर्दिङदेखि नेपालखण्डको लम्बाइ २१७ किलोमिटर छ । एसजेबीएनले ७०० मेगावाट बिजुली भारतमा बिक्री गर्नेछ ।
यसैगरी विकासकर्ता एसजेबीएनले प्रतिस्पर्धाबाट ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना निर्माण गर्न पाएको छ । पछिल्लो समयम एसजेबीएनले ४९० मेगावाटको अरुण–४ आयोजना पनि पाएको छ । ३ वटा आयोजनाको जडित क्षमता २ हजार ६९ मेगावाट हुनेछ । यस्तै तल्लो अरुणबाट पनि हालको जडित क्षमताअनुसार २१ प्रतिशत अर्थात १४२ मेगावाट बिजुली निःशुल्क पाउने छ । अरुण–४ को विस्तृत अध्ययनको काम सुरु भएको छ ।
बाँधस्थल मकालु गाउँपालिका–५ फ्याक्सिन्दा र विद्युत गृहस्थल चिचिला गाउँपालिका–२ पुखुवामा निर्माण कार्य तीव्र गतिमा चलिरहेको छ । फ्याक्सिन्दादेखि पुखुवा निस्कने मुख्य सुरुङमार्गको दूरी ११.७४ किलोमिटर छ ।
आयोजनाबाट प्रभावित स्थानीयवासीले १ अर्ब ६० करोडको सेयर पाउनाका साथै प्रतिमहिना ३० युनिट विद्युत प्राप्त गर्नेछन् । परियोजनाबाट २५ वर्षमा नेपाललाई रोयल्टी, निःशुल्क विद्युत र आयकर गरी ३ खर्ब ४८ अर्ब प्राप्त हुने अनुमान छ । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाललाई हस्तान्तरण गरिने पीडीएमा उल्लेख छ ।