काठमाडौं । सिन्धुलीको खुर्कोट आधा दर्जन राष्ट्रियस्तरका ठूला आयोजनाहरुको संगमस्थल बन्ने भएको छ । हाल खुर्कोट बजार भएर बीपी राजमार्ग र पुष्पलाल (मध्यपहाडी) राजमार्ग सञ्चालनमा रहेका छन् ।
त्यसबाहेक नयाँ सहर, सुनकोसी–२ जलविद्युत, सुनकोसी मरिण डाइर्भसन आयोजना रहेका छन् । यस्तै खुर्कोटदेखि सिन्धुलीको चियाबारीसम्म सुरुङमार्ग पनि बन्ने भएको छ । यो आयोजना अध्ययनकै क्रममा छ । राष्ट्रियस्तरका बीपी र मध्यपहाडी राजमार्गले काठमाडौंबाट पूर्व र तराईका जिल्ला जोड्नेछन् ।
मध्यपहाडी राजमार्गका लागि रामेछाप हुँदै नयाँ ट्रयाक खोल्ने काम भइरहेको छ । नयाँ सहर र मरिण डाइभर्सनको काम भने निर्माणाधीन अवस्थामा छ । जलविद्युत निर्माणको विषय भने अध्ययनकै क्रममा रहेको छ ।
बीपी राजमार्ग काभ्रेपलान्चोकको धुलिखेलदेखि सिन्धुलीको खुर्कोट हुँदै महोत्तरीको बर्दिवाससम्म १६० किलोमिटर रहेको छ । तर, सो बाटोमा सवारीसाधनको चाप अत्याधिक बढ्न थालेको भन्दै बीपी राजमार्गमा खुर्कोट–चियाबारी सुरुङमार्ग निर्माण गर्ने तयारी गरिएको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले बनेपा–सिन्धुली–बर्दिबास जोड्ने बीपी राजमार्ग २०५२ सालदेखि निर्माण सुरु गरी २०७२ असारमा नेपाललाई हस्तान्तरण गरेको थियो । जसको लागत २६ अर्ब जापानी येन थियो । जाइकाले नै खुर्कोट–चियाबारी सुरुमार्ग निर्माण गर्नको लागि पूर्वसम्भाव्यताको अध्ययन (प्रि–फिजिबिलिटी) अध्ययन सम्पन्न गरेको छ ।
सो अध्ययनअनुसार सुरुङको लम्बाइ ७.७ किलोमिटर लामो हुनेछ । जुन हालसम्म नेपालमा सडकमार्गको क्षेत्रमा निर्माण गर्न लागिएको सबैभन्दा लामो सुरुङमार्ग पनि हो ।
त्यसबाहेक खुर्कोट बजारनजिकै राष्ट्रिय गौरवको सुनकोसी मरिण डाइभर्सन नदी पथान्तरण आयोजना पनि निर्माणाधीन अवस्थामा छ । २०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मरिण डाइभर्सनको उद्घाटन गरेका थिए । २०७९ असार मसान्तसम्म सो अयोजनाको भौतिक प्रगति ७.६ प्रतिशत भइसकेको छ ।
मरिण डाइभर्सन आयोजनाको मुख्य उद्देश्य सुनकोसीको पानी १३ किलोमिटर लामो सुरुङमार्फत सिन्धुली बजारस्थित मरिण खोलामा खसालेर मधेस प्रदेशको जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउनु हो । साथै उक्त सिँचाइ आयोजनाबाट ३१ मेगावाट विद्युतसमेत उत्पादन हुने सुनकोसी मरिण डाइभर्सन आयोजनाले जनाएको छ ।
त्यसबोहक खुर्कोट बजारबाट करिब २८ किलोमिटर पूर्व सुनकोसी–२ जलाशययुक्त जलविद्युत आयोजनाको बाँध रहने गरी निर्माण गर्ने तयारी सरकारले गरेको छ । सुनकोसी–२ बाट ९७८ मेगावटा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । जसको असर खुर्कोट बजारसम्मै पार्ने छ ।
जलविद्युत आयोजनाको अवधारण सन् १९८५ मा आएको थियो । हाल आयोजनाको वातावरणिय प्रभाव मूल्यांकन (ईआईए) तयार भएको छ । आयोजनाले सिन्धुली, रामेछाप र काभ्रेपलान्चोक जिल्लाका केही स्थानमा असर गर्नेछ ।
ईआईएअनुसार सिन्धुलीको गोलन्जोर गाउँपालिका र सुनकोसी गाउँपालिका, रामेछापको रामेछाप नगरपालिका, मन्थली नगरपालिका, लिखु तामाकोसी गाउँपालिका, खाँडादेवी गाउँपालिका र काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकामा असर गर्नेछ ।
तर, विद्युत विकास विभागका सूचना अधिकारी एवं सिनियर डिभिजन इन्जनियर (सीडीई) गोपीप्रसाद शाह ईआईए तयार हुँदैमा आयोजना निर्माण हुन्छ भनेर नबुझ्न आग्रह गर्छन् । ‘अहिले सुनकोसी–२ जलविद्युत आयोजना अध्ययनकै क्रममा रहेको छ । निर्माण गर्ने निष्कर्ष निस्किएको छैन,’ उनले भने ।
त्यति मात्र होइन खुर्कोट बजारमै सरकारले नयाँ सहर निर्माण गर्ने अवधारणा पनि अगाडि सारेको छ । आर्थिक वर्ष ०६७/०६८ बाट नयाँ सहरको अवधारण ल्याएको सरकारले आर्थिक वर्ष ०७०/०७१ बाट बजेट विनियोजन गरेको थियो ।
सरकारले मध्यपहाडी राजमार्गका १० ठाउँलाई नयाँ सहरका रूपमा विकास गरी जनसंख्या वृद्धिलाई रोक्ने उद्देश्य राखेको छ । नेपालमा उक्त १० स्थानमध्ये खुर्कोट बजार पनि एक हो । हाल खुर्कोटमा जति पनि आयोजना निर्माण हुने क्रममा वा निर्माणाधीन अवस्थामा छन् तीमध्ये सबैभन्दा पहिला सुनकोसी–२ जलविद्युत आयोजनाको अवधारण आएको हो ।
तर, पछि योजना बनेका र सञ्चालनमा रहेका आयोजनाले जलविद्युत आयोजनासँग छलफल र सहकार्य नगरी काम अगाडि बढाइरहेका छन् । यसरी राष्ट्रियस्तरका आयोजनाले नै एकअर्कासँग छलफल र सहकार्य नगरी काम गर्दा निर्माण कार्यमा बाधा पर्नाका साथै आयोजना सम्पन्न हुने वा नहुने भन्ने विषयमा अन्योलता कायमै रहन्छ ।
जसको उदाहरण ललितपुरको खोकना क्षेत्रलाई लिन सकिन्छ । खोकनामा बाहिरी चक्रपथ, काठमाडौं–तराई-मधेस द्रुतमार्ग, स्मार्ट सिटीलगायत महत्वपूर्ण आयोजना सञ्चालन गर्ने सरकारको योजना छ । तर, जनताले विरोध गरेपछि स्मार्ट सिटी निर्माणको योजना खोकना क्षेत्रबाट हटाउने तयारी ललितपुर महानगरपालिकाले गरेको छ ।
सिन्धुलीको खुर्कोटमा पनि फरकफरक उद्देश्य राखेर निर्माण गर्न लागिएका आयोजनाबीच सहकार्य र समन्वय नहुने हो भने निर्माण कार्यमा बाधा पर्नाका साथै अर्बौं रुपैयाँको लगानीको औचित्य खेर जान सक्छ ।
विभागका सीडीई शाह भने सुनकोसी–२ आयोजनाको अवधारणा सन् १९८५ बाटै आएको र अन्य आयोजनहरु त्यपछि मात्रै सञ्चालनमा रहेकाले अन्य आयोजनाले निर्माण कार्य अगाडि बढाउँदा विद्युत विकास विभागसँग छलफल गर्नुपर्ने बताउँछन् ।
सुनकोसी मरिण डाइभर्सनका सूचना अधिकारी रवि शाक्य भने जलविद्युत आयोजनाले डाइभर्सनलाई खासै असर नगर्ने बताउँछन् । विद्युतको भन्दा डाइभर्सनको काम पहिला सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।
यदि जलविद्युतको काम डाइभर्सन निर्माण सम्पन्न नभई सुरु भएमा काम गर्न समस्या हुने उनको भनाइ छ । तर, जलविद्युतको अध्ययन भइरहेकाले डाइभर्सनलाई असर नहुने उनको भनाइ छ ।
त्यस्तै नयाँ सहर आयोजना कार्यालय खुर्कोटका आयोजना प्रमुख सुदीप श्रेष्ठ औपचारिक रुपमा जलविद्युत आयोजनाको विषयमा आफूलाई जनकारी नआएको बताउँछन् । नयाँ सहर निर्माण गर्न बजेट पनि आइरहेकाले सहरको काम पनि भइरहेकाे उनको भनाइ छ ।
'अनौपचारिक रुपमा स्थानीयहरुले जलविद्युत बन्ने कुरा छ । सहरलाई असर गर्छ भनेको सुनेको छु । तर, मलाई आधिकारिक जानकारी आएको छैन । त्यसैले हाम्रो काम भइरहेको छ । मन्थली बजारसम्मै डुबाउने कुरा सुनिएको छ, जलविद्युत बन्यो भने नयाँ सहरलाई असर गर्छ,’ प्रमुख श्रेष्ठले भने ।
यसरी हेर्दा खुर्कोट बजार क्षेत्र र त्यहाँ निर्माण भएका अन्य आयोजनालाई मुख्य असर सुनकोसी २ जलविद्युत आयोजनाले गर्ने देखिएको छ । मध्यपहाडी राजमार्गको पनि ३० किलोमिटरभन्दा बढी सडक जलविद्युतको बाँधले डुबाउँछ ।