विश्वका टप–टेन (शीर्ष १०) अर्बपतिहरुको सूचीमा एकपटक फेरि भारतीय उद्योगपतिको दबदबा देखिएको छ ।
धनाढ्य शीर्ष–१० मा रिलायन्स इन्डस्ट्रिजका चेयरमेन मुकेश अम्बानीले एक फड्को मारेका छन् ।
योसँगै उनी विश्वकै नवौं धनाढ्य व्यक्ति बनेका छन् ।
जबकि एसियाका धनी मानिने भारतीय गौतम अडानी चौथो नम्बरमा छन् ।
फोर्ब्सको रियल टाइम डेटाअनुसार विगत केही दिनदेखि टप–टेन अर्बपतिहरुको लिस्टमा अम्बानी १०औं नम्बरमा थिए । तर, उनको कम्पनीको सेयरमा उछाल आएसँगै उनी नवौं नम्बरमा पुगेका छन् । यसअघि नवौं स्थानमा रहेका सर्गेई ब्रिन दसौं नम्बरमा उक्लिएका छन् । उनको कुल नेटवर्थ ८९.९ अर्ब डलर छ ।
अम्बानीको रिलायन्स जियोले २०२२ को पहिलो त्रैमासमा राम्रो मुनाफा भएको छ । कम्पनीको कन्सोलिडेटेड मुनाफा ४ हजार ३३५ करोड रुपैयाँ भारु छ ।
जुनचाहिँ २०२१–२२ को पहिलो त्रैमासमा ४ हजार १७३ करोड रुपैयाँ थियो ।
रिलायन्स इन्डस्ट्रिजको सेयरको अन्तिम कारोबार शुक्रबार २ हजार ५०२.९५ बिन्दुमा बन्द भएको थियो ।
टप–टेनको लिस्टमा सहभागी अर्का उद्योगपति अडानी ११५.८ अर्ब डलर नेटवर्थसहित चौथो नम्बरमा छन् । लामो समयदेखि यो स्थान ओगटेका माइक्रोसफ्टका बिल गेट्सलाई पछाडि पारेका छन् ।
यसरी हेर्दा रिलायन्सका मालिक अम्बानी अडानीभन्दा पाँचौं स्थानले पछि छन् ।
फोब्र्सको ताजा रिपोर्टअनुसार दुवैको सम्पत्तिबीच २५.१ अर्ब डलरको दूरी छ ।
यस्तै टेस्ला र स्पेस–एक्सका सीईओ एलन मस्क अर्बपतिहरुको सूचीमा शीर्ष एकमै छन् । उनको कुल नेटवर्थ २५३.४ अर्ब डलर छ ।
उता फ्रान्सका अर्बपति बर्नार्ड अर्नाल्ट १५७.१ अर्ब डलरसहित दोस्रो स्थानमा छन् भने एमेजनका मालिक जेफ बेजोस १४८.१ अर्ब डलरको नेटवर्थसहित तेस्रो धनीको स्थानमा छन् ।
बिल गेट्स भने १०४.७ अर्ब डलरसहित पाँचौं धनाढ्य व्यक्ति बनेका छन् ।
विश्वका टप–टेन अर्बपतिको कुरा गर्दा १०३.३ अर्ब डलरसहित लरी एलिसन छैटौं, ९९.३ अर्ब डलरको कुल नेटवर्थसहित लगानीकर्ता वारेन बफेट सातौं स्थानमा छन् । यस्तै लेरी पेज आठौं स्थानमा छन् । उनको कुल सम्पत्ति ९३.४ अर्ब डलर छ ।
यसबाहेक फेसबुकका फाउन्डर मार्क जुकरबर्ग धनीहरुको सूचीमा २०औं स्थानमा छन् । उनको कुल सम्पत्ति ६०.९ अर्ब डलर छ ।