विराटनगर । उद्योग संगठन मोरङमा वथनाह–विराटनगर मालवाहक रेल सञ्चालनसम्बन्धी छलफल सम्पन्न भएको छ ।
भारतको वथनाहबाट मोरङको विराटनगरसम्म निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे सञ्चालन पूर्वतयारीबारे उद्योग संगठन मोरङमा बैठक भएको हो ।
बैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल म्यानेजर एसके चौधरीले कार्गो रेल्वे अविलम्ब सञ्चालनमा ल्याउने बताएका छन् ।
छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगंज पुलमा आएको अवरोधले गर्दा मालवाहक सवारीका साधन रिरुट गरी ल्याउँदा उद्योगीलाई थप आर्थिक व्ययभार परिरहेको अवस्थामा मालवाहक रेल्वे सञ्चालनले राहत दिने बताए ।
‘यस क्षेत्रबाट भइरहेको नेपाल–भारतबीचको व्यापार अभिवृद्धिमा यो परियोजना कोसेढुंगा सावित हुनेछ,’ उनले भने, ‘स–साना बाधा–व्यवधानलाई अविलम्ब समाधान गरी मालवाहक रेल्वे सञ्चालनमा ल्याउन भारत र नेपाल पक्षका अधिकारीलाई आग्रह गरे । साथै नीजि क्षेत्रका तर्फबाट उद्योग संगठन मोरङ सहजीकरण गर्न तयार रहेको पनि उनको भनाइ थियो ।
भारतीय रेल्वे, डिभिजनल रेल्वे मेनेजर एसकेचौधरीले १८ दशमलव ६ किलोमिटर लम्बाइ भएको वथनाह–विराटनगर रेल्वेको काम अन्तिम चरणमा पुगेको भन्दै नेपाल र भारत सरकारबीच प्राविधिक र प्रशासनिक प्रक्रिया पूरा भएको १० देखि १५ दिनमा कार्गो रेल सञ्चालनमा ल्याउन सकिने बताए । ‘जोगबनीमा रेल्वे रिपेयरिङ सेन्टर निर्माणका लागि भारतीय रेल्वे मन्त्रालयसमक्ष आवश्यक बजेटका लागि अनुरोध गरेका छौं,’ उनले भने, ‘उक्त सेन्टर निर्माणपश्चात् अन्य स्थानका लागि नया प्यासेन्जर रेल थपिनेछ ।’
यस्तै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दुई देशीय व्यापार विस्तारका लागि महत्वपूर्ण कार्गो रेल सञ्चालनमा ल्याउन महानगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । साथै नेपाल सरकारका तर्फबाट गर्नुपर्ने प्राविधिक र प्रशासनिक प्रक्रिया पूरा गर्न प्रधानमन्त्रीसमक्ष पहल गरिने उनको भनाइ थियो ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले निर्माणको क्रममा देखिएका बाधाहरु समाधानमा मोरङ प्रशासनको तर्फबाट पूर्ण सहयोग रहने बताए ।
छलफलमा विराटनगर भन्सारका प्रमुख अधिकृत ताराप्रसाद सापकोटाले मिरगंज पुलका कारण आयात–निर्यातमा समस्या आउँदा राजस्व संकलनसमेत प्रभावित भएको बताउँदै कार्गो रेल सञ्चालन गर्न भन्सारको सहयोग रहने स्पष्ट पारे ।
नेपालको रेल विभागका इन्जिनियर रोशनकुमार देवले पनि दुवै देशका प्राविधिक टोलीले निर्माणाधीन परियोजनाको प्राविधिक पक्ष परीक्षण गरी अन्य प्रशासनिक प्रक्रिया पूरा गरेपछि विराटनगर–वथनाह रेल सञ्चालनमा आउने वताउँदै त्यसका लागि तयारी भइरहेको जानकारी गराए ।
‘यस क्षेत्रका इडिबल आयल उत्पादन गर्ने उद्योगहरुको कच्चापदार्थ स्टोर गर्न आफ्नै खर्चमा ट्यांक निर्माण गर्न तयार छ,’ संगठनका वरिष्ठ उपाध्य प्रदिप मुरारकाले भने, ‘त्यसका लागि सहजीकरण गरिदिन डिभिजनल रेल्वे मेनेजरलाई अनुरोध छ ।’
संगठनका पूर्व अध्यक्ष किशोर प्रधान र अशोक मुरारकाले जोगबनी रेल्वे यार्डमा पानी जम्नाका साथै नेपालको मालसमान रातमा अनलोड गर्न समस्या भइरहेको बताए ।
यस्तै संगठनका पूर्वउपाध्यक्ष एवं उद्योगी राकेश सुरानाले नेपालबाट भारतको विभिन्न स्थानमा उपचार गराउन, अध्ययन गर्न र धार्मिक प्रयोजनका लागि जाने यात्रुहरुको संख्या अत्यधिक रहेकाले थप गन्तव्य पहिचान गरी नयाँ रेल थप्नुपर्नेमा जोड दिए ।
छलफलमा संगठनका उपाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य पारस लुनिया, भारतीय रेल्वे, जोगबनी आईसीपी, नेपाल रेल्वे विभाग, नेपाल आईसीपीका प्रतिनिधिलगायत उद्योगी÷व्यवसायीहरुको उपस्थिति थियो ।