काठमाडौं । अघिल्लो कारोबार दिन २७ अंकले घटेको नेप्से परिसूचक उच्च अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ६१.०५ अंकले बढेर करिब २१ बिन्दुनजिक पुगेको हो ।
आज नेप्से परिसूचक २०२८.९६ बिन्दुबाट खुलेर २०७८ उच्च बिन्दुमा पुग्न सफल भयो । आजको बजार बन्द हुँदाको बिन्दु नै बजारको उच्च बिन्दु हो । आज नेप्से परिसूचक न्यून २०२७.६६ बिन्दु झरेको थियो ।
आज ६१.०५ अंकले बढेको बजारमा कारोबार रकममा पनि उछाल देखिएको छ । आज नेप्सेमा २ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त कारोबार रकम पछिल्लो १६ कारोबार दिनको सबैभन्दा धेरै हो ।
गत असार २० गते नेप्सेमा ४ अर्ब २८ करोडको कारोबार भएको थियो । असार २० गतेपछि आज सर्वाधिक २ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ ।
गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ४÷१२ को नीति हेरफेरि गर्दै ४ हटाएर १२ मात्र कायम गर्दा नेप्सेमा उछाल आएको जानकार बताउँछन् ।
४/१२ को नीतिले बजार घटेको भन्दै लामो समयदेखि लगानीकर्ता संघ–संस्था, केही लगानीकर्ताले विरोध गर्दै आइरहेका थिए । मौद्रिक नीतिले ४ को सीमा हटाइदिँदा थोरै भए पनि बजारलाई राहत मिलेको सेयर विश्लेषकको भनाइ छ ।
यसअघि एक बैंक वित्त संस्थाबाट बढीमा ४ करोड र अन्य संस्थाबाट गरी जम्मा १२ करोडसम्म सेयर धितो कर्जा लिन पाइने व्यवस्था थियो । सोही व्यवस्थालाई मौद्रिक नीतिले ४ को सीमा हटाएर जुनसुकै बैंक वित्त संस्थाबाट लगानीकर्ताले १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था गरेको हो ।
सोही नयाँ व्यवस्थाले लगानीकर्तालाई थोरै भए पनि राहत मिल्न गई बजार बढेको नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन् । साथै मौद्रिक नीतिले साना लगानीकर्ताको हकमा २५ लाखसम्मको कर्जाको जोखिमभार सतप्रतिशतको व्यवस्थाले पनि बजारमा बढेको पोखरेलले बताइन् ।
आज नेप्सेमा २ सय १९ कम्पनीको ६४ लाख २३ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से कारोबारमा आएका २ सय १९ कम्पनीमध्य १ सय ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
आज नेप्सेमा १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको हो । आज नेप्सेमा शिवम् सिमेन्टको सर्वाधिक ३९ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बिमा कम्पनीकोे ६ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।