काठमाडौं । भारतमा तीसभन्दा बढी होटलको व्यवस्थापन सम्हाल्दै आएको हस्पिटालिटी ब्रान्ड ओमात्रा नेपाल भित्रिएको छ । उसले परासीमा चारतारे होटलको व्यवस्थापकीय जिम्मा लिएको छ ।
होटल क्षेत्रमा विगत १५ देखि २२ वर्षसम्म अनुभव लिइसकेका सुनिल श्रेष्ठ, युवराज पाण्डे, सालुक कुँवरले सो ब्रान्डलाई आधिकारीक रुपमा नेपाल भित्राउँदै व्यवस्थापनको जिम्मा लिएका हुन् ।
यद्यपि, होटलको नाम भने सार्वजनिक गरेका छैनन् ।
आगामी साउनभित्रै सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी गरिरहेको व्यवस्थापकमध्येकै श्रेष्ठले जानकारी दिए । अहिले काम अन्तिम चरणमा पुगेको र केही प्राविधिक विषयहरु मिलाउन बाँकी रहेकाले होटलको नाम सार्वजनिक नगरिएको उनको भनाइ छ ।
सबै क्षेत्र र सबै किसिमका ग्राहकलाई लक्षित गरी सञ्चालन गर्न लागिएको सो होटलमा ८० वटा कोठा रहनेछन् । रेस्टुराँ, स्विमिङ पुलसहित चारतारे होटलमा रहने सबै सुविधाहरु पाइनेछ ।
होटल क्षेत्रको लामो अनुभवलाई व्यवस्थापकीय जिम्मेवारी सम्हालेर हस्पिटालिटी क्षेत्रमा नयाँ व्यवस्थापनको स्वाद चखाउने आफूहरुको उद्देश्य रहेको श्रेष्ठको भनाइ छ । भारतको लोकप्रिय ब्रान्ड नेपाल ल्याएर त्यसलाई पर्यटकीय क्षेत्रमा विस्तार गर्ने योजना बनाएको उनले बताए ।
परासीमा होटल सञ्चालन गरेपछि दोस्रो चरणमा पोखरामा प्रवेश गर्ने श्रेष्ठले जानकारी दिए ।
पर्यटकमा पनि विषेशगरी भारतीयलाई लक्षित गरिएको छ । भारतकै प्रतिष्ठित ब्रान्डको होटल नेपालमा सञ्चालन गर्दा थप पर्यटकहरु नेपाल आउन सक्ने उउनीहरुको अनुमान छ ।
सन् २०१५ देखि होटल तथा हस्पिटालिटी म्यानेजमेन्टको थालनी गरेको ओमात्राले भारतमा ३० वटा स्टार होटलहरु सञ्चालन गरेको छ । भारतबाहेक नेपाल र थाइल्यान्डमा समेत ओमात्राले आफ्नो ब्रान्ड लगेको ओमात्राका नेपाल कन्ट्री हेडसमेत रहेका श्रेष्ठले जानकारी दिए ।
पर्यटन क्षेत्रलाई थप चलायमान बनाउँदै गुणस्तरीय सेवा दिने हिसाबले ओमात्राले आगामी दिनमा नेपालका मुख्य पर्यटकीय क्षेत्रमा पनि आफ्नो उपस्थिति बढाउने तयारी गरेको छ ।
पर्यटकलाई सर्वसुलभ, गुणस्तरीय र शान्त वातारणको अनुभव प्रदान गर्दै आइरहेको ओमात्रा म्यानेजमेन्टले पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्न सक्ने पर्यटन व्यवसायीहरुको भनाइ छ ।