काठमाडौं । सरकारले सन् २०२३ देखि २०३३ लाई ‘नेपाल भ्रमण दशक’ घोषणा गर्ने जनाएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२३ देखि २०३३ लाई ‘नेपाल भ्रमण दशक’ घोषणा गर्ने जनाएको हो ।
आइतबार मन्त्रालयले ७३ बुँदे पर्यटन पुनरुत्थान कार्ययोजनासमेत सार्वजनिक गरेको छ । आगामी ३ महिनाभित्र कार्यायोजनामा उल्लेख भएअनुसार ‘नेपाल भ्रमण दशक’ घोषणा गरिसक्नु पर्ने व्यवस्था रहेको छ । साथै गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाउ अभियान’ पनि सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।
त्यस्तै काठमाडौंमा ‘हप अन हप अफ सिटी बस’समेत अबको ३ महिनाभित्र सञ्चालन गर्ने सरकारको तायारी छ । साथै प्रयोगमा न आएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याउने बताइएको छ ।
त्यस्तै ७३ बुँदे कार्ययोजनाअनुसार सरकारले अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ड्युटी फ्री सप’ राख्ने तयारी थालेको छ । पर्यटन क्षेत्र पुनरुत्थानका लागि ३ महिनाभित्र अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्री सप’ राख्ने मन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय प्रस्तान कक्षमा ड्युटी फ्री सपको व्यवस्था गर्ने र पसलहरूमा नेपाली हस्तकला एवं नेपाली उत्पादनका लिक्विर (मदिरा) बिक्री गर्ने व्यवस्था तयारी सरकारको छ ।
यसअघि डा. बाबुराम भट्टराई अर्थमन्त्री भएको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्युटी फ्री सप हटाइएको थियो । हाल नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् ।
त्यस्तै काठमाडौं उपत्यकाभित्र रात्रिकालीन पर्यटनको प्रारम्भ र प्रवर्धन गर्न काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्रा आगामी दुई वर्षभित्र सञ्चालन हुनेसमेत मन्त्रालयले जनाएको छ ।