काठमाडौं । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले उपभोग घटाउन र बचत बढाउन पोलिसी रेट बढाएको बताएका छन् । क्यापिटल नेपालसँग कुराकानी गर्दै अधिकारीले ब्याजदर अहिले नै माथि भएकाले उपभोग घटाउन मात्रै बैंकदर डेढ प्रतिशत पुर्याएको बताएका हुन् ।
अनावश्यक उपभोग घटाउन केन्द्रीय बैंकले मौद्रिक उपकरण चलाएको बताए । नेपालमा बचत गर्ने कल्चर घट्दै गएको र उपभोग बढेकाले केन्द्रीय बैंकले त्यतातिर सोचेर मौद्रिक औजार चलाएको बताए ।
‘अहिलेको पोलिसी रेटको ब्याजदरभन्दा मार्केटमा अहिले ब्याजदर माथि छ । अहिले बैंकको मुद्धतिको ब्याजदर ११ प्रतिशत छ । तर, बैंकदर ७ प्रतिशत मात्र थियो । ट्रेजरी बिलको रेट १० प्रतिशत पुगेको थियो । हाम्रो त ७ प्रतिशत मात्रै छ’ गभर्नर अधिकारीले भने ।
उनका अनुसार पोलिसी रेटको नजिक ती रेटहरु रहुन भन्ने हाम्रो आशय हो । अहिले नै ब्याजदर माथि गइसकेकाले हाम्रो रेटले मार्केटलाई पच्छ्याइरहेको छ की हामी मार्केटको रेटलाई पच्छ्याइरहेका छौ । अहिले त मार्केट अघि छ । हामीले उसलाई पच्छ्यारहेका छौ ।
कन्जम्सनलाई टार्गेट गरेर पोलिसी रेट बनाएको उनको दाबी छ । ‘उपभोग बढाउन र बचत बढाउन हामीले चलाउनुपर्ने मुख्य औजार भनेकै पोलिसी रेट हो । र हामीले बढाएका हौं’ उनले भने, ‘हाम्रो कन्जम्सनको प्याट्रन हेर्दा प्राइस बढे पनि आफ्नो कन्जम्सन नघटाउने सोच हाबी छ । जुन एकदम खतरनाक हो ।’
उनका अनुसार यस्तो हुँदा अर्थतन्त्रको कुनै पनि नीतिले काम गर्दैन । यस्तो प्रवृत्ति धेरैको देखिन्छ । नेपालीहरु मूल्यको कुनै प्रवाह गर्दैनन् । कुन वस्तुको कति ट्याग छ त्यसैलाई सही मानेर जति पनि खर्च गर्ने गरेको उनको भनाइ छ । लाउनेले जति ट्याग लगाएयो, त्यहिलाई आधार मानेर सामान किन्ने ट्रेन्ड एकदमै बढेको उनको भनाइ छ ।