काठमाडौं । नेपाल राष्ट्र बैंकले घर जग्गा धितो राखेर दिने कर्जामा कडाइ गरेको छ ।
चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाले घर/जग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका तथा अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालूबीचको अनुपात काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशसम्म कायम गर्नुपर्ने व्यवस्था गरिने जनाएको छ ।
यस अघि सरकारी र बैंकले गरेको मुल्यांकनको आधारमा काठमाडौं उपत्यकाभित्र ४० प्रतिशत र बाहिरी जिल्लामा ५० प्रतिशतसम्म ऋण दिँदै आएको थियो ।
नेपाल जग्गा तथा आवास विकास संघका उपाध्यक्ष विदुर धमलाले राष्ट्र बैंकको नीतिले घरजग्गा क्षेत्र झनै समस्यामा पर्ने बताए । घर जग्गा व्यवसायप्रति सरकारले हेर्ने दृष्टिकोण परिवर्तन नभएकै कारण समस्यामा पर्दै आएको व्यवसायमा अहिलेको मौद्रिक नीतिले झनै समस्यामा पर्ने उनको भनाइ छ ।
राष्ट्र बैंकलाई पटक-पटक दिएको सुझावलाईसमेत वेवास्था गर्दै घर जग्गा राखेर दिने ऋणमा कडाइ गरेकोप्रति आपत्तीसमेत जनाएका छन् । आफूहरुले सरकारलाई घरजग्गा व्यवसायलाई उद्योगकोरुपमा मान्यता दिन गरेको आग्रहलाईसमेत वेवास्था गरेको उनको भनाइ छ ।
घरजग्गा राखेर ट्रेडिङ बिजनेश गर्नेहरुलाई ९० प्रतिशतसम्म ऋण दिँदै आएको बताउँदै व्यवस्थीत सहर बनाउन भने राष्ट्र बैंकले कस्दै गएको हुँदा व्यवसाय नै ठप्प हुने अवस्थामा पुग्ने स्थीति आएको उनको भनाइ छ ।
यसअघि सरकारले ल्याएको जग्गा वर्गिकरणको प्रभावले पनि पछिल्लो समय घरजग्गा व्यापारमा मन्दि छाइरहेको छ ।