काठमाडौं । विशाल ग्रुपको स्वामित्वमा रहेको ग्लोबल ट्रेडिङ कन्सर्न प्राइभेट लिमिटेडले विभिन्न प्रकारका विदेशी मदिरा बिक्री गर्दै आएको छ । कम्पनीले एक वर्षमा १ अर्ब ९७ करोड ३० लाख रुपैयाँको मदिरा व्यापार गरेको छ ।
सन् २०२० मा १ अर्ब ७६ करोड ९० लाख, सन् २०१९ मा २ अर्ब १ करोडको मदिरा व्यापार गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
ग्लोबलले उच्च तथा मध्यम स्तरका व्यक्तिका लागि लक्षित गर्दै स्कटल्याण्डको जनी वाल्कर कम्पनीले उत्पादन गरेको ब्लाकलेबल, डबलब्लाक, रेडलेबललगायत महंगा ह्विस्कीका साथै सिमरअफ कम्पनीको भोडका आयात गरी नेपालमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले १ अर्ब ४८ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । केयर रेटिङस नेपाल लिमिटेडले केयर एनपी ए थ्री रेटिङ दिएको छ । विशाल ग्रुपले प्रवद्र्धक गरेको कम्पनी भएकाले ग्लोबलको ट्रयाक रेकर्ड राम्रो देखिएको छ ।
ग्रुपले व्यापार, उत्पादन, हस्पिटालिटी, बैंक तथा बिमा क्षेत्रमा लगानी विस्तार गरेको छ । अनिलकुमार अग्रवाल कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहेका छन् । कम्पनीले विभिन्न ब्राण्डका ह्विस्की, भोडका, रम, जिन, ब्राण्डी र टकिलाको बिक्री वितरण गर्दै आएको छ ।
यसैगरी कम्पनीले प्रतिष्ठित ब्राण्डको बियर र वाइनको पनि बिक्री गरिरहेको छ । सरकारले मदिरा आयातमा लगाएको प्रतिवन्धले चालू वर्षको ९ महिनामा व्यापार खच्किएको ग्लोबलले जनाएको छ । यसले कम्पनीको वित्तीय स्वास्थ्यमा असर गरेको छ ।
सन् १९९८ नोभेम्बर ३० मा स्थापना भएको ग्लोबल ट्रेडिङले विभिन्न मुलुकहरुमा उत्पादन भएको ब्राण्डेड मदिरा र बियर आयात गरी नेपालभरी बिक्री वितरण गर्दै आएको छ।