काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले निर्माण समयमै सक्न र काममा कुनै पनि बहाना नगर्न निर्देशन दिएका छन् ।
भैंसेपाटीमा बन्दै गरेको संघीय मन्त्री, प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको निवासको स्थलगत निरीक्षण गर्दै मन्त्री चौधरीले संघर्ष समितिका समस्या पनि समाधान होऊन् भन्दै मन्त्रीको तहबाट, मन्त्रालयको तहबाट गर्न मिल्ने र गर्न सकिने काममा कुनै समस्या नहुने बताएका छन् ।
विशेष भवन निर्माण आयोजनाको आयोजना निर्देशक दिलिप शेखर श्रेष्ठको ब्रिफिङ सुनेपछि मन्त्री चौधरीले भने, ‘तपाईंहरुको सक्रियता र गम्भीरता देख्दा मलाई निकै खुसी लागेको छ । समयमै सक्न सबै प्रयास गर्नुस् ।’
‘२०७६ असोज २७ गते २ वर्षमा सक्ने गरी सम्झौता भई प्रदेश प्रमुख र मुख्यमन्त्री आवासका लागि ७ वटा ब्लकमा काम भइरहेको छ । कोभिडका कारण एक वर्ष थपिएको छ । हाल करिब ८१ प्रतिशत काम सम्पन्न भैसकेको छ । अब काम समयमै पूरा हुनेछ । २७ रोपनीमा फैलिएको सो भवन जम्मा ७२ करोड ५० लाख बन्न लागेको हो ।
त्यसैगरी संघीय मन्त्रीहरुका लागि ९६ रोपनीमा २७ वटा भवन बन्न लागेका छन् । जसमध्ये २४ वटा भवन संघीय मन्त्रीका लागि, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्षका र प्रतिनिधिसभाका उपसभामुखका लागि एक÷एक वटा हुने गरी भवन बन्दैछन् ।
संघीय मन्त्री निवास भने १ अर्ब ३ करोडमा २ वर्षे समयसीमाभित्र बन्ने गरी २०७६ कात्तिकमा सम्झौता भएअनुसार काम भइरहेको बताइएको छ । कोभिड र अन्य कारणले गर्दा थप १ वर्ष समय थपिएकाले निर्माण कार्य समयमै सकिने बताइएको छ ।
४० प्रतिशत क्षेत्रफलमा हरित क्षेत्र, अत्याधुनिक र सुविधासम्पन्न भवनहरु, भुकम्प प्रतिरोधी संरचना, आगलागीबाट बच्ने प्रवन्ध, सेना, शसस्त्र र नेपाल प्रहरि रहने सुरुक्षा व्यवस्था, ढल निकास र प्रशोधनको उचित प्रविधि, स्विमिङ पुल, हेल्थ क्लब आदि थुप्रै सुविधाहरु रहने जनाइएको छ ।