काठमाडौं । केन्द्रीय बैंकले शुक्रबार (आज) ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।
अर्थतन्त्र गम्भीर समस्यामा परेको अवस्थामा ल्याउन लागेको मौद्रिक नीतिले पोलिसी रेट चलाउने र इजी मनी (सहज पैसा) उपलब्ध नगराउने गरी मौद्रिक नीति ल्याउने तयारी थालिएको हो ।
स्रोतका अनुसार सहज पैसा (इजी मनी) उपलब्ध नगराउने नीति लिएको हो । खासगरी, २०७४ मा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गरेपछि इजी मनीको वातावरण बनेको थियो ।
चालू आवको मौद्रिक नीतिबाट उक्त कार्य रोक्न लागेको हो ।
२०७६ मा सुरु भएको कोरोना संक्रमणबाट क्षतिग्रस्त क्षेत्रलाई सहजीकरण गर्ने गरी आएको मौद्रिक नीतिले इजी मनीको यात्रालाई भरपूर बनाए थियो । जसको प्रभाव अर्थतन्त्रका चलायमान क्षेत्रमा देखिएको छ ।
इजी मनीको असर आयात, घरजग्गा कारोबार र सेयर बजारमा देखिएको हो । मौद्रिक नीतिले अनिवार्य तरलता अनुपात (सीआरआर), वैधानिक तरलता अनुपात (एसएलएफ), बैंकदर, कर्जा वृद्धिदर, विस्तृत मुद्राप्रदायलगायतका उपकरणमा कडाइ गर्नेछ ।
आउन लागेको मौद्रिक नीतिले हाल कायम ३ प्रतिशतको सीआरआरलाई बढाउने छ । त्यसैको अनुकूलतामा एसएलएफ तय हुनेछ । विस्तृत मुद्राप्रदाय र कर्जा विस्तारको सीमा पनि घटाइने स्रोतको भनाइ छ ।
बैंकदर र ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधादरलाई पनि बढाइएको छ । करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर र नीतिगत दरको रुपमा रहेको रिपोदरलाई पनि बढाइएको छ ।
यी सबै उपकरण चलाउनुको अर्थ कर्जाको ब्याजदर बढाउने भन्ने नै हो ।