काठमाडौं । ग्लोबल आईएमई बैंकको गत आर्थिक वर्ष ०७८/०७९ मा खुदनाफा २५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा बैंकले ५ अर्ब २० करोड ६४ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब १६ करोड ५१ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणमा अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुदनाफा बढाएको छ । सो नाफाबाट बैंकले सेयरधनीहरुलाई ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने जानकारी दिएको छ ।
बैंकको खुदब्याज, शुल्क र कमिशन आम्दानी बढेपछि यसको सकरात्मक प्रभाव खुदनाफामा परेको हो । गत आर्थिक वर्षमा बैंकको खुदब्याज तथा शुल्क र कमिसन आम्दानी बढेर १२ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा बैंकको खुदब्याज, शुल्क तथा कमिसन आम्दानी १० अर्ब ६७ करोड ३१ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकले ५० करोड ३७ लाख रुपैयाँ पुरानो ऋण असुली गरेको वित्तीय विवरणमा उल्लेख छ ।
बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि वृद्धि भई २१.८८ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ईपीएस १९.२५ रुपैयाँ थियो । यस्तै प्रतिसेयर नेटवर्थ १५६.११ रुपैयाँ छ । निष्क्रिय कर्जा अनुपात घटेर १.२२ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १.४१ प्रतिशत थियो ।
बैंकको निक्षेप लागत ७.४८, कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८९.२१, आधारदर ९.४०, ब्याजदर अन्तर (स्प्रेड) ४.२६ प्रतिशत रहेको बैंकले जानकारी दिएको छ ।
गत आर्थिक वर्षमा बैंकको निक्षेप परिचालन बढेर २ खर्ब ७७ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २ खर्ब ६८ अर्ब ४३ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको कर्जा विस्तार भएको छ । गत आर्थिक वर्षमा बैंकले २ खर्ब ५८ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षमा २ खर्ब २८ अर्ब ६५ करोड रुपैयाँ थियो ।
बैंकको सञ्चित कोषको आकार बढेर १० अर्ब १५ करोड रुपैयाँ पुगेको छ । यस्तै चुक्ता पुँजी पनि बढेर २३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।