काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित यति एयरलाइन्स प्राइभेट लिमिटेडको एयरलाइन्स व्यवसायबाट हुने आम्दानी बढेको छ । ९ महिनाको अवधिमा यतिले २ अर्ब ७४ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
सन् २०२१ मा यतिको सञ्चालन आम्दानी १ अर्ब ३९ करोड ६० लाख रुपैयाँ मात्र थियो । सन् २०२१ को तुलनामा सन् २०२२ को ९ महिनाको अवधिमा एयरलाइन्सको व्यापार साढे ९६ प्रतिशतले बढेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ ।
गत वर्षको तुलनामा यो वर्षको ९ महिनामा १ अर्ब ३४ करोड ७० लाख रुपैयाँले व्यापार बढेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
कोरोना महामारीले गर्दा सन् २०२० र २१ मा कम्पनीको व्यापारमा असर गरेको थियो । वायुसेवा उडान अवरुद्ध भएपछि त्यसबेला कम्पनीको वित्तीय अवस्था कमजोर रहेको थियो । चालू वर्षमा व्यापारले गति लिन थालेकाले आम्दानीमा सुधार देखिएको हो ।
सन् २०२० मा यतिले २ अर्ब ६६ करोड, २०१९ मा ३ अर्ब ४३ करोड र २०१८ मा ३ अर्ब १३ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । ९ महिनामा आम्दानीमा भएको सुधारले नाफा २३ प्रतिशतले बढेको छ । यसबीचमा यतिका विमानहरुले धेरै यात्रुको ओसारपसार गर्दा व्यवसाय बढेको हो ।
यतिको व्यवसाय विराटनगर, पोखरा र भैरहवा गरी तीन महत्वपूर्ण रुटमा निर्भर रहेको छ । यी तीन गन्तव्यबाट हुने आम्दानीको हिस्सा बढी रहेको यतिले जनाएको छ । यी क्षेत्रमा उडान गरेर हुने कुल आम्दानीमा ६२ प्रतिशत हिस्सा रहेको छ ।
यो वर्षको ९ महिनामा यतिको मासिक आम्दानी औसत साढे ३० करोड ५० लाख रुपैयाँ पुगेको छ । कोरोना महामारी कालमा मासिक आम्दानी औसत २८ करोड ६० लाख रुपैयाँ थियो ।
सन् २०२० र ०२१ मा आएको महामारीले कम्पनीको खुदसम्पत्ति ५१ करोड ९० लाख रुपैयाँले ऋणात्मक थियो । तर, सन् २०२२ सुरु भएपछि कम्पनीको सञ्चालन नाफा राम्रो रहेको छ । जेटस्ट्रिम एयरक्राफ्ट बिक्रीले पनि आम्दानीमा सहयोग पुर्याएको छ ।
यतिको आन्तरिक बजार हिस्सा २५ प्रतिशत रहेको छ । यति एयरलाइन्स नेपालको आन्तरिक वायुसेवा व्यवसायमा दोस्रो ठूलो कम्पनी हो । तीव्र प्रतिस्पर्धाको बीचमा यतिको व्यवसाय विस्तार हुँदै गएको देखिन्छ ।
यतिले ३ करोड ८३ लाख ३० हजार डलर ऋणको रेटिङ गराएको छ । इक्रा नेपाल लिमिटेडले इक्राएनपी ए फोर रेटिङ दिएको छ ।
यति एयरलाइन्सको स्थापना सन् १९९८ मा भएको हो । एयरलाइन्स बिजनेसमा यतिको दुई दशकको अनुभव हुनुका आफनो व्यवसायिक प्रतिष्ठाका साथै ब्राण्डको पनि स्थापना गरेको छ ।
हाल यति एयरलाइन्सले ५ वटा एटीआर एयरलाइन्स सञ्चालन गर्दै आएको छ । यति थामसेर्कु ग्रुपको सहायक कम्पनी हो । ग्रुप लामो समयदेखि पर्यटन र वायुसेवा व्यवसायमा आवद्ध रहदै आएको छ ।
ग्रुप छातामुनी यति एयरलाइन्स र तारा एयर गरी दुई वायुसेवा कम्पनी सञ्चालनमा छन् । यस्तै ग्रुपको देशभरी दर्जनौ होटल तथा लज, ट्रेकिङ र पछिल्लो समयमा जलविद्युतमा पनि लगानी विस्तार गरेको छ ।
यतिले दुर्गम क्षेत्रमा तारा एयरमार्फत उडान गरिरहेको छ । ग्रुपको स्थापना लाक्पा सोनाम शेर्पा र स्वर्गिय आङछिरिङ शेर्पाले गरेका हुन् । हाल लाक्पा सोनाम यतिको अध्यक्ष र चन्दा शेर्पा प्रबन्ध निर्देशकको रुपमा कार्यरत छन् ।