काठमाडौं । पछिल्लो छ दशकमा मात्रै मुलुकको उद्योग क्षत्रेमा २६ खर्ब रुपैयाँ बढी लगानी भएको पाइएको छ । यसबाट उद्योग क्षेत्रको विकासका सरकारले विशेष गरी ध्यान केन्द्रित गरेको र लगानीकर्ताले पनि लगानीको मात्रामा क्रमशः वृद्धि गर्दै गएको देखिन्छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७८/०७९ सम्म उद्योग (विभिन्न क्षेत्रका उद्योगमा) मात्रै २६ खर्ब २७ अर्ब रुपैयाँ बढीको लगानी प्रस्ताव आएको उल्लेख छ ।
नेपालमा विशेष गरी आर्थिक वर्ष ०१७/०१८ सालदेखि ०७८/०७९ सम्म ८ हजार ७६४ उद्योगका लागि उक्त परिमाणको लगानी प्रस्ताव आएको हो । तथ्याङ्कअनुसार हालसम्म दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै लगानीको प्रस्ताव साना उद्योगमा रहेको छ ।
विवरणअनुसार साना उद्योग ५ हजार ४४२, मझौला उद्योग २ हजार १७ र ठूला उद्योग १ हजार ३०५ दर्ता भएका छन् । तथ्याङ्कअनुसार हालसम्म दर्ता भएका उद्योगले छ लाख ५७ हजार ५०७ लाई रोजगारी दिने उल्लेख गरिएको छ ।
कोरोना महामारीपछि विस्तारै स्वदेशी तथा विदेशी लगानीका उद्योगमा प्रतिबद्धता आउने क्रममा वृद्धि हुन थालेको विभागका सम्बद्ध अधिकारीको भनाइ छ । विभागका सूचना अधिकारी पूर्णिमा उपाध्यायले कोरोना पछि उद्योगको सङ्ख्यासँगै लगानीमा समेत वृद्धि हुन थालेको जानकारी दिए । उनका अनुसार गत आव ०७७/०७८ को तुलनामा ०७८/०७९ मा स्वदेशी लगानीका उद्योगमा मात्रै २ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
आव २०७७/०७८ मा २०३ उद्योगका लागि १ खर्ब ५६ अर्ब रुपैयाँ बढीको लगानी प्रस्ताव आएकोमा गत आव ०७८/०७९ मा ३ खर्ब ४३ अर्ब ५५ करोड रुपैयाँ बढीको लगानी प्रस्ताव आएको छ । एक वर्षको अवधिमा १ खर्ब ८७ अर्ब रुपैयाँ बढीको लगानी प्रस्ताव आएको हो ।
गत आव ०७८/०७९ मा ३०९ वटा उद्योग दर्ता भएकामा ९१ वटा ठूला उद्योष्, १०८ वटा मझौला र ११० वटा साना उद्योगमा दर्ता भएका छन् । गत आव ०७७/०७८ मा २०३ वटा उद्योग दर्ता भएका थिए ।
बढ्यो विदेशी लगानी
विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विदेशी लगानी प्रतिबद्धतामा समेत वृद्धि भएको छ । एक वर्षको अवधिमा विदेशी लगानीका उद्योगमा २२ अर्ब आठ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता थपिएको हो ।
आव ०७८/०७९ को एक वर्षको अवधिमा २९५ विदेशी लगानीका उद्योगमा ५४ अर्ब १५ करोड रुपैयाँ बढीको लगानी प्रतिबद्धता आएकोे छ । आव ०७७/०७८ मा १८४ उद्योगका लागि ३२ अर्ब ७ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो । उद्योग विभाग स्थापना भएदेखि हालसम्म ४ खर्ब १९ अर्ब रुपैयाँ बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ ।
कुनमा उद्योगमा कति प्रतिबद्धता ?
गत आवमा सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रका उद्योगमा आएको छ । एक वर्षका अवधिमा ९७ सेवामूलक क्षेत्रका उद्योगमा मात्रै २७ अर्ब २९ करोड ८१ लाख रुपैयाँ बढीको लगानी प्रतिबद्धता आएको देखिन्छ ।
सेवामूलकपछि सबैभन्दा धेरै लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा आएको छ । सेवामूलक क्षेत्रका उद्योगभन्दा पर्यटन क्षेत्रका उद्योगको सङ्ख्या धेरै भए तापनि सेवामूलक क्षेत्रका उद्योगमा बढी लगानी प्रतिबद्धता आएको छ ।
विभागको तथ्याङ्कअनुसार पर्यटन क्षेत्रमा १२४ उद्योगका लागि १९ अर्ब ६० करोड १५ लाख रुपैयाँ बढीको प्रतिबद्धता आएको हो । यस्तै, कृषि क्षेत्रमा ४ उद्योगका लागि ६० करोड, ऊर्जा क्षेत्रमा एक उद्योगका लागि १० करोड ६२ लाख, सूचना प्रविधि क्षेत्रमा छ उद्योगका लागि ४७ करोड, पूर्वाधार क्षेत्रका आठ उद्योगका लागि १ अर्ब ७२ करोड ४० लाख र उत्पादनमूलक क्षेत्रका ५१ उद्योगका लागि ८ अर्ब १४ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको हो ।
लगानी प्रतिबद्धतासँगै स्वदेशी लगानीका उद्योगले २८ हजार ५२७ र विदेशी लगानीका उद्योगले १६ हजार ९१९ गरी ४५ हजार ३४६ लाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।
स्वदेशी लगानीका ३०९ उद्योग दर्ता
विभागको तथ्याङ्कअनुसार एक वर्षका अवधिमा स्वदेशी लगानीमा ३०९ वटा उद्योग दर्ता भएका छन् । एक वर्षको अवधिमा विभागमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव ऊर्जा क्षेत्रका उद्योगमा आएको छ । ऊर्जामूलक क्षेत्रका ५० वटा उद्योगमा १ खर्ब ७० अर्ब ७६ करोड ७४ लाख ७३ हजार बराबरको लगानी प्रस्ताव आएको हो ।
यस्तै, ऊर्जापछि सबैभन्दा धेरै लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रका उद्योगमा आएका छन् । एक वर्षको अवधिमा ११५ सेवामूलक क्षेत्रका उद्योग दर्ता हुँदा ८९ अर्ब ७९ करोड ४१ लाख ९१ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
पर्यटन क्षेत्रका ५८ उद्योगमा २६ अर्ब ५१ करोड ४९ लाख ७६ हजार, सेवामूलक क्षेत्रका ४६ उद्योगका लागि ४६ अर्ब ७५ करोड ५८ लाख, कृषि क्षेत्रमा २१ उद्योगका लागि ५ अर्ब २८ करोड ९० लाख ९९ हजार, सूचना प्रविधि क्षेत्रमा ११ उद्योगका लागि १ अर्ब ८९ करोड ८५ लाख, पूर्वाधार क्षेत्रका पाँच उद्योगका लागि २ अर्ब २७ करोड ९१ लाख र दुईवटा खनिज उद्योगका लागि २५ करोड ९९ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । रासस