काठमाडौं । नेपाल वायुसेवा निगमले ३ वर्षपछि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई १ अर्ब ३५ करोड रुपैयाँ किस्ता बुझाएको छ ।
२०७६ साल पुसमा किस्ता बुझाएपछि निगमले कुनै किस्ता तिर्न सकेको थिएन । कोभिड संक्रमण कम हुँदै जाँदा र निगमको व्यापारमा सुधार आएसँगै सञ्चय कोषलाई ९० करोड र नागरिक लगानी कोषलाई ४५ करोड रुपैयाँ तिरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
निगमले दिएको किस्तामध्ये न्यारोबडी जहाजको ४५ करोड र वाइडबडी जहाजको ९० करोड रुपैयाँ तिरेको उनले बताइन् ।
निगमले दुइटा एयर बस ३२० खरिदका कर्मचारी सञ्चय कोषसँग १० अर्ब, दुई वाइडबडी ए ३३० खरिदका लागि सञ्चय कोष र नागरिक लगानी कोषबाट साढे १२ अर्बका दरले २५ अर्ब ऋण लिएको थियो ।
निगमको अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन ऋणमात्रै करीब ५० अर्ब पुगेको छ।
यसरी जहाज खरिदमा लिएको ३८ अर्ब ७२ करोड रुपैयाँको ऋण बढेर ४७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । निगमले कोरोना महाहारी सुरु भएदेखि जहाज खरिदमा लिएको ऋणको किस्ता र ब्याज तिरेको थिएन ।
जहाज खरिदका लागि मात्रै विभिन्न संस्थाबाट लिएको ऋणको दायित्व साढे ४७ अर्ब रुपैयाँ पुगेको छ । निगमले दुई वाइडबडी ए ३३०, दुई एयरबस ए ३२० र सहुलियत दरको ऋणमा खरिद गरेको चिनियाँ जहाजको सावाँ र ब्याजको दायित्व ४७ अर्ब ४४ करोड रुपैयाँ पुगेको हो ।
यसैगरी चिनियाँ जहाज खरिदमा नेपालले अनुदान र सहुलियत ऋण गरी ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ खर्च गरेको थियो । कुल रकममध्ये दुई अर्ब ९४ करोड ३० लाख अनुदान सहयोग थियो भने ३ अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत ब्याजदरको ऋण थियो ।