काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरुले गत आर्थिक वर्ष २०७८/७९ को जेठसम्ममा साढे ५ अर्ब बढी खुदनाफा गरेका छन् ।
उक्त नाफा कामना सेवा विकास बैंकबाहेका अन्य ७ बैंकको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा कामना सेवा विकास बैंकको नाफा उल्लेख छैन् । यद्यपि ७ विकास बैंकले २०७८/७९ को जेठसम्ममा ५ अर्ब ५४ करोड नाफा गर्न सफल भएका छन् ।
सो अवधिमा सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकले खुदनाफा गरेको छ । बैंकले १ अर्ब २६ करोड रुपैयाँ नाफा गरेको हो । बैंकको उक्त खुदनाफा दुई बैंकको भन्दा धेरै हो । सोही अवधिमा मुक्तिनाथ विकास बैंकको खुदनाफा सिभिल र बैंक अफ काठमान्डुको भन्दा बढी हो । त्यस्तै नेपाल बंगलादेश बैंकले पनि लगभग मुक्तिनाथको हाराहारीमा नाफा गरेको छ ।
राष्ट्रियस्तरका विकास बैंकहरुमा मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, लुम्बिनी विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंक रहेका छन् ।
राष्ट्रियस्तरका विकास बैंकहरुको कुल चुक्ता पुँजी २७ अर्ब बढी रहेको छ ।
विकास बैंकमा कुन बैंकको नाफा कति ?
मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को जेठसम्म १ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गरिमा विकास बैंकले ९७ करोड रुपैयाँ, ज्योति विकास बैंकले ६९ करोड, महालक्ष्मी विकास बैंकले ९३ करोड ३१ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकले ५९ करोड, साइन रेसुंगा डेभलपमेन्ट बैंकले ६१ करोड र सांग्रिला डेभलपमेन्ट बैंकले ४८ करोड ५५ लाख रुपैंयाँ खुद नाफा आर्जन गरेको छ ।