काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कारखाना स्थलसम्म बिजुली पुर्याउने प्रत्याभूति (ग्यारेन्टी) नगर्दा सूर्यतारा सिमेन्टमा आउन लागेको १४ अर्ब २७ करोड रुपैयाँ लगानी रोकिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा चैत १७ गते बसेको लगानी बोर्डको ५० औं बैठकले सूर्यतारा सिमेन्ट उद्योग स्थापना गर्न १४ अर्ब २७ कराेड रुपैयाँ लगानी स्वीकृत गरेको थियो ।
लगानी स्वीकृत भएकाले सूर्यतारा सिमेन्टलाई उद्योग निर्माण, सञ्चालन एवम व्यवस्थापनको बाटो खुले पनि बिजुली आपूर्तिको एस्योरेन्स नहुँदा लगानी रोकिएको अवस्था छ । सूर्यतारा सिमेन्टले कारखाना स्थापना र क्लिंकर उत्पादन पूर्वाधारमा लगानी सो रकम लगानी गर्ने भएको हो ।
कर्णाली प्रदेशमा उत्पादन गरेर सुदुरपश्चिम क्षेत्रमा सिमेन्ट आपूर्ति गर्न सुर्खेतको पञ्चपुरी गाउँपालिकाको चौकुनामा कारखाना स्थापनाका लागि बोर्डले सूर्यतारालाई स्वीकृति दिएको हो । बिजुली आपूर्तिको ग्यारेन्टी नहुँदा बैंकहरुबाट ऋण लिने ढिलाइ भइरहेको सूर्यतार सिमेन्टका सञ्चालक मुकुन्दप्रसाद तिमिल्सिनाले बताए ।
बैंकबाट ऋण लगानी नआएपछि सिमेन्ट कारखाना स्थापनाको काम सुरु गर्न नसकेको उनको भनाई छ । उद्योग सञ्चालन हुने क्षेत्र पञ्चपुरी गाउँपालिकाको चौकुनासम्म बिजुली पुग्ने ग्यारेन्टी हुन साथ बैंकबाट ऋण स्वीकृति र सिमेन्ट उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माणको काम पनि तत्कालै सुरु हुने उनले सुनाए ।
उद्योगका लागि कैलालीको लम्कीचुहाबाट २६ किलोमिटर १३२ किलोमिटर लामो प्रसारण लाइनबाट बिजुली आपूर्ति गर्नुपर्ने हुन्छ । उद्योगलाई २० मेगावाट भन्दा बढी बिजुली आवश्यक पर्ने देखिएको छ । यद्यपि नेपाल विद्युत प्राधिकरणले उद्योगसम्म बिजुली पुर्याउन काम सुरु गरिसकेको उनले जानकारी दिए ।
प्राधिकरणले दिने मितिको ग्यारेन्टी नगर्दा कारखानको पूर्वाधार निर्माण अनिश्चित बनेको छ । कारखाना पूर्वाधार निर्माण सुरु गरेको २४ महिनाभित्र सूर्यताराबाट सिमेन्ट उत्पादन थाल्ने योजना रहेको सञ्चालक तिमिल्सिनाले बताए ।
सुर्खेतमा सञ्चालनमा ल्याउन लागेको सूर्यतारा सिमेन्ट उद्योग स्थापना गर्न ४० बिघा जग्गा खरिद गरिसकेको छ । ‘दैनिक करिब ३ हजार टन क्लिंकर र ३ हजार टन (६० हजार बोरा) सिमेन्ट उत्पादन गर्ने उद्योगको लक्ष्य रहेको छ ।
सूर्यतारामा सिटिजन्स बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक र माछापुच्छ्रे बैकलगायतले ऋण लगानी गर्ने प्रतिवद्धता जनाइसकेका छन् । बिजुली आपूर्तिको ग्यारेन्टी हुन साथ बैंकबाट ऋण लगानीको प्रक्रिया सुरु हुने छ ।
सञ्चालक तिमिल्सिनाकाअनुसार कुल लगानी मध्ये ८० प्रतिशत बैंकको ऋण बाँकी संस्थापकहरुको स्वपुँजी (इक्विटी) स्वामित्व हुने गरी लगानी संरचना बनाइएको छ ।
स्वदेशी लगानीमा नेपालमा नयाँ सिमेन्ट उद्योग आउन लागेको हो । सूर्यतारा कर्णाली प्रदेशको पहिलो सिमेन्ट उद्योग बन्ने भएको छ ।
विस्तृत अध्ययन भएर कारखानको पूर्वाधार तयारपछि उद्योग सञ्चालमा आउनेछ ।
उनका अनुसार अहिलेसम्म कर्णाली र सुदूरपश्चिम क्षेत्रमा सिमेन्ट उद्योगहरू छैनन् । ‘दाङबाट सिमेन्ट लैजाँदा ढुवानी खर्च मात्रै बोराको ९० देखि १ सय २५ रुपैयाँसम्म तिर्नुपरेको छ ।
सोही क्षेत्रमा सिमेन्ट उद्योग उत्पादन गरेपछि उपभोक्ताले ७०–८० रुपैयाँसम्म सस्तोमै सिमेन्ट किन्न पाउने उद्योगीको भनाई छ ।उद्योगका लागि चाहिने चुनढुंगा खानी सुर्खेतबराहा तालमा लिएको छ ।
लगानी स्वीकृति भए पनि लगानी बोर्डसँग परियोजना सम्झौता गर्नुपर्ने हुन्छ । परियोजना सम्झौतापछि सिमेन्ट कारखाना स्थापनाको पक्रिया अघि बढ्ने छ । हालसम्म पीएनएको प्रक्रिया सुरु नभएको लगानी बोर्डका प्रवक्ता अमृत लम्सालले बताए ।
सम्राटको स्वामित्व बेचेर सूर्यतारमा लगानी
दाङको सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगको स्थापना मुकुन्दले गरेका हुन् । विवाद आएपछि मुकुन्दले ३० प्रतिशत सेयर उद्योगपति तथा नेपालका सबैभन्दा धनी विनोद चौधरीलाई बेचेर सम्राट सिमेन्टबाट तिमिल्सिना बाहिरिएका हुन ।
मुकुन्द सम्राटको अध्यक्ष थिए । सम्राटले २०७४ देखि सिमेन्ट उत्पादन थालेको हो । कम्पनीले सुरुमा ३ अर्ब ५१ करोड लगानी गरेको थियो। अनिल रुंगटा र मुकुन्दबीचको विवादले उद्योगको बिक्रीमा समेत ठूलो प्रभाव परेको थियो ।
नेपाल गुणस्तर चिन्ह (एनएस) नलिइ काठमाडौंमा बिक्री भयो। एनएस नलिइ बिक्री गरेको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले उद्योगलाई कारवाही गरेको थियो ।
मुकुन्दले अम्बे सिमेन्टमा लगानी गरेका थिए । त्यस्तै, युनाइटेड मोदी होइड्रोपावर र अटोमोबाइलदेखि मोबाइल कम्पनीसम्म फैलिएको छ । भिभो मोबाइलका अध्यक्ष पनि हुन । उनको शुभश्री अग्नीमा पनि लगानी रहेको छ ।
नेपालमा चिनियाँ लगानीमा होङसी र हुवासिन सिमेन्ट उद्योगले उत्पादन गरिरहेका छन् । यस्तै केही उद्योगहरुमा विदेशी लगानी रहेको छ । हालसम्म ५५ वटा सिमेन्ट उत्पादन र २० वटा क्लिङकर उद्योग सञ्चालनमा छन् । पछिल्ला वर्ष नेपाल कच्चा वस्तु क्लिङकरमा आत्मनिर्भर हुने बाटोमा लागेको छ । अझै केही उद्योग पाइपलाइनमा रहेका छन् ।